काठमाडौं । बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ। यसलाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाले जोखिमयुक्त स्थान र विद्यालयहरुमा निगरानी बढाएको छ।
सम्भावित बाढी र डुबानबाट बालबालिकाको सुरक्षा सुनिश्चित गर्न तथा डुबानले भौतिक सम्पत्तिमा पुग्न सक्ने क्षति कम गर्न यो कदम चालिएको महानगरपालिकाले जनाएको छ। हाल सामान्य वर्षा भइरहे पनि यसको मात्रा बढेर भारी वर्षामा परिणत हुनसक्ने देखिएकाले सतर्कता अपनाइएको हो।
महानगरपालिकाले जोखिमपूर्ण क्षेत्रमा रहेका विद्यालयको अवस्थाको समेत मूल्याङ्कन गर्नेछ। आवश्यकताअनुसार विद्यालय सञ्चालन वा पठनपाठन स्थगन गर्ने अधिकार र जिम्मेवारी शिक्षा विभागलाई दिइएको छ।
मौसमजन्य विपदको पूर्वतयारी र प्रतिकार्य योजना बनाउनका लागि बुधबार महानगर विपद् व्यवस्थापन समितिको बैठक बसेको थियो। बैठकले सम्भावित बाढी, डुबान, पहिरो र जलजन्य जोखिम न्यूनीकरणका लागि पूर्वतयारी तथा प्रतिकार्य प्रणालीलाई सक्रिय बनाउने निर्णय गरेको छ। साथै, सुरक्षा निकाय, रेडक्रसजस्ता विभिन्न निकायसँग समन्वय बढाउने पनि निर्णय भएको छ।
भारी वर्षाबाट महानगर क्षेत्रभित्र उत्पन्न हुनसक्ने जोखिम न्यूनीकरणका लागि महानगरका सबै संयन्त्र, विभाग, निकाय र वडा कार्यालयलाई तयारी तथा प्रतिकार्यका काम सक्रिय रूपमा सञ्चालन गर्न निर्देशन दिइएको छ।
नदी किनारका क्षेत्रमा माइकिङ गर्ने, पानी निकास हुने स्थानमा विशेष निगरानी राख्ने, ढल, मङ्गाल र क्याचपिटको सरसफाइलाई तीव्रता दिनेजस्ता निर्णयहरु बैठकमा भएका छन्। यस कार्यका लागि नगरप्रहरी बल, वातावरण व्यवस्थापन विभाग र विपद् व्यवस्थापन विभागलाई जिम्मेवारी तोकिएको छ।
विपद् प्रतिकार्यका लागि ¥याफ्टिङ बोर्ड, त्रिपाल, सवारीसाधनलगायत आवश्यक सामग्रीहरू तयारी अवस्थामा राखिएका छन्। दुई जना नगर प्रहरीको उद्धार टोली पनि तैनाथ गरिएको छ। सम्भावित जोखिमका समयमा नेपाल सरकारका विभिन्न कार्यालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा अन्य सङ्घसंस्थाहरूसँग समन्वय र सहकार्य गर्ने व्यवस्था मिलाइएको छ।
