नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट ३० अर्ब रुपैयाँ उठाउँदैछ।
यो रकम बोलकबोलमार्फत १ महिनाका लागि उठाउन लागेको हो। यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूसँग प्रस्ताव मागेको छ। बुधबार (२०८३ असोज २१ गते) दिउँसो ३ बजे अनलाइनमार्फत बोलकबोल हुनेछ।
राष्ट्र बैंकले यस निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज २०८३ कात्तिक १८ गते भुक्तानी गर्नेछ। यसअघि निक्षेप संकलन उपकरणमार्फत खिचेको करिब ७ खर्ब रुपैयाँ परिपक्व हुन बाँकी छ।
नेपाल राष्ट्र बैंकका अनुसार, २०८३ असोज १५ सम्म बैंक तथा वित्तीय संस्थाहरूले केन्द्रीय बैंकमा कुल ४ खर्ब रुपैयाँभन्दा बढी लगानी गरेका छन्। बैंकिङ प्रणालीमा सोही मितिसम्म १३ खर्ब ६३ अर्ब रुपैयाँ अतिरिक्त तरलता रहेको छ, जसमध्ये १० खर्बभन्दा बढी लगानीयोग्य रकम रहेको राष्ट्र बैंकले जनाएको छ।
निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट तय हुनेछ, जसमा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकता दिइनेछ। बोलकबोल अनलाइन बिडिङ सिस्टम सफ्टवेयर (OBSS) मार्फत सञ्चालन हुनेछ।
