गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित बुढीगण्डकी नदीमा बाढीले खतराको तह पार गरेको छ। बाढी पूर्वानुमान महाशाखाले गोरखाको आरुघाटमा जलसतह खतराको तहभन्दा माथि पुगेको जनाउँदै त्रिशूली दोभानसम्मका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गोरखा, तनहुँ, चितवन तथा नवलपरासी पूर्व र पश्चिमका नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई तत्काल सूचना पुर्याउन र सतर्क रहन अपिल गरेको छ। बाढीको बहाव सामान्य नहुँदासम्म नदी किनार तथा आसपासका क्षेत्रमा नजान र सुरक्षित उच्च स्थानमा बस्न महाशाखाले अनुरोध गरेको छ।
बाढीले चुमनुब्री गाउँपालिकाको सल्लेरी बजार र सोती बजारको पुल बगाएको छ। धार्चे गाउँपालिकाको दोभानस्थित बेलिब्रिजमा पनि क्षति पुगेको छ। यसअघि बुढीगण्डकी बाढीले चुमनुब्रीका पैयू र बगर गाउँका ३५ वटा घर बगाएको थियो। हाम्रो अघिल्लो समाचार यहाँ पढ्नुहोस्।
चुमनुब्री गाउँपालिका–३ सल्लेरीमा निर्माणाधीन ३४१ मेगावाटको अर्धजलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प र केही उपकरण पनि बाढीले बगाएको कान्तिपुरले जनाएको छ। बाढी बिहान करिब ४:०० देखि ४:३५ बजेको बीचमा आएको थियो।
स्थानीय बासिन्दा ज्यान जोगाउन सुरक्षित स्थानतर्फ भागेका थिए। हालसम्म मानवीय क्षति भएको विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन कार्य जारी छ।
यसअघि: बुढीगण्डकी बाढीले गोरखामा ३५ घर बगायो, गृहमन्त्रीले उद्धारका लागि हेलिकप्टर पठाए
