चीनको सिजाङ स्वायत्त क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पले ७६ जना घाइते बनाएको छ, मृतकको संख्या १६ यथावत छ।
नाग्चु नगरपालिका सरकारको सूचना कार्यालयले शुक्रबार दिउँसो १ बजेसम्मको अद्यावधिक तथ्यांक सार्वजनिक गर्दै यो जानकारी दिएको हो। भूकम्प नाग्चु शहरको बाक्वेन काउन्टीमा गएको थियो।
स्थानीय अधिकारीहरूका अनुसार, भूकम्पबाट ३३९ घर र २० वटा पशुपालनका गोठ भत्किएका छन्। यसअघि बिहीबार राति भूकम्प जाँदा १६ जनाको मृत्यु र ३२ जना घाइते भएको प्रारम्भिक जानकारी आएको थियो।
उद्धार कार्यमा ५,००० भन्दा बढी कर्मचारीहरू खटाइएको छ। उनीहरूले खोज तथा उद्धार, चिकित्सा उपचार, अस्थायी आश्रय र आवश्यक सामग्री उपलब्ध गराउने काम गरिरहेका छन्। प्रकोप क्षेत्रमा आपतकालीन कमान्ड मुख्यालय स्थापना गरी राहत प्रयासहरूलाई समन्वय गरिएको छ।
स्थानीय अधिकारीहरूले पहाडी क्षेत्र, जलाशय, पावर स्टेशन, नदी, कमजोर संरचना भएका भवनहरू र दूरसञ्चारका बेस स्टेशनलगायतका प्रमुख स्थानहरूको चौबीसै घण्टा अनुगमन गरिरहेका छन्। क्षतिग्रस्त दूरसञ्चार र विद्युत सुविधाहरूको मर्मत कार्य जारी छ।
भूकम्प अनुगमन, मौसम विज्ञान र आपतकालीन व्यवस्थापन विभागहरूले पराकम्प र प्रतिकूल मौसमको समयमै चेतावनी जारी गर्न समन्वय गरिरहेका छन्। अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) ले ४.३ देखि ५.२ म्याग्निच्युडका कम्तीमा सातवटा पराकम्प रेकर्ड गरेको जनाएको छ।
प्रहरी र यातायात अधिकारीहरूले उद्धार कार्यका लागि पहुँच सुनिश्चित गर्न १,७०० किलोमिटरभन्दा बढी सडक, २०१ पुल र ३२४ कल्भर्टको निरीक्षण गरेका छन्। उनीहरूले ११ वटा सम्भावित खतराहरू पहिचान गरी सातवटा सडक खण्डबाट खसेका चट्टानहरू हटाएका छन्।
रेड क्रस सोसाइटी अफ चाइनाले स्थानीय राहत कार्यमा सहयोग गर्न एउटा कार्यदल पठाएको छ। उसले परिवार राहत किट, सरसफाइ किट, हिटर, पाल, ज्याकेट, फोल्डिङ बेड र कम्बललगायत ३,८०० सेट सामग्री उपलब्ध गराएको छ। चाइना च्यारिटी फेडेरेसनले आपतकालीन उद्धार कार्यका लागि ३० लाख युआन (लगभग ४,४६,५६१ अमेरिकी डलर) छुट्याएको छ।
चीनका राष्ट्रपति सी चिनफिङले हराइरहेकाहरूको खोजी तथा उद्धार र घाइतेहरूको तत्काल उपचारका लागि हरसम्भव प्रयास गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री ली कियाङले पनि प्रकोप रोकथाम र प्रतिक्रियाका लागि ठोस प्रयास गर्न आह्वान गरेका छन्।
चीनको प्राकृतिक संसाधन मन्त्रालयले सिजाङ स्वायत्त क्षेत्रका लागि बिहान ६ बजे लेभल III भूगर्भीय प्रकोप आपतकालीन प्रतिक्रिया सक्रिय गरेको छ। अर्थ मन्त्रालय र आपतकालीन व्यवस्थापन मन्त्रालयले ५० मिलियन युआन (लगभग ७.४४ मिलियन अमेरिकी डलर) केन्द्रीय प्राकृतिक प्रकोप राहत कोषबाट छुट्याएको छ। राष्ट्रिय विकास तथा सुधार आयोगले पूर्वाधार र सार्वजनिक सुविधाहरूको आपतकालीन पुनर्स्थापनाका लागि केन्द्रीय बजेटबाट थप ३० मिलियन युआन छुट्याएको छ।
केन्द्रीय, क्षेत्रीय, नगरपालिका र काउन्टी स्तरका अधिकारीहरूले राहत सामग्रीहरू परिचालन गरी प्रभावित क्षेत्रमा पुर्याएका छन्। यी सामग्रीहरूमा १,००० वटा प्रिफ्याब्रीकेटेड घर, ३,२०० भन्दा बढी पाल, २,८०० भन्दा बढी फोल्डिङ बेड र कम्बल, स्टोभ र कपडालगायतका दैनिक आवश्यकताका वस्तुहरू समावेश छन्। भूकम्प प्रभावित क्षेत्रमा आगामी तीन दिनसम्म हल्का हिमपातको सम्भावना रहेको छ।
यसअघि: तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प: १६ जनाको मृत्यु, ३२ घाइते र ३३९ घर भत्किए
