धनुषाको मिथिला बिहारी नगरपालिका–३, मथिलेश्वरमा एक दम्पती मृत फेला परेका छन् भने उनीहरूका चार वर्षीय छोरा घाइते भएका छन्।
प्रहरीका अनुसार, ३० वर्षीया रिनादेवी यादवको घाँटीमा धारिलो हतियार प्रहार भएको चोट देखिएको छ। उनका श्रीमान् ३५ वर्षीय उमेश यादव घरभन्दा करिब एक किलोमिटर टाढा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
घटनामा घाइते भएका दम्पतीका चार वर्षीय छोरा सम्राट यादवको दाहिने तिघ्रामा धारिलो हतियार प्रहार भएको घाउ देखिएको छ। उनलाई उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ। बालकको अवस्था सामान्य रहेको प्रहरीले पुष्टि गरेको छ।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले घटनाको प्रकृति शंकास्पद देखिएको बताएका छन्। इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक राजेश कुमार शर्माको कमान्डमा प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ।
प्रहरीका अनुसार कात्तिक ८ गते बिहान करिब १ः५० बजे घटनाबारे सूचना प्राप्त भएको थियो। घटनास्थलबाट रगत लागेको चक्कु बरामद गरिएको छ। रिनादेवीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ भने उमेशको झुण्डिएको अवस्थामा फेला परेको घटनास्थलको मुचुल्का तयार गर्ने कार्य भइरहेको छ।
उमेश यादव केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए। उनी घटनाको अघिल्लो दिन मात्रै ससुराली पुगेका थिए। घटनाको वास्तविक कारण र मृत्युको परिस्थितिबारे अनुसन्धानपछि थप विवरण खुल्ने प्रहरीले जनाएको छ।
