रौतहटको फतुवा विजयपुर नगरपालिका–६ पेटभर्वामा सोमबार दुई सयभन्दा बढी गाईभैँसीसहित पुस्तौँ पुरानो सोहरैया पर्व मनाइएको छ। लक्ष्मीपूजाको भोलिपल्ट मनाइने यस पर्वमा हजारौँ स्थानीयवासीले परम्परागत उत्सवको अवलोकन गरेका थिए।
पर्वका लागि किसानहरू बिहानैदेखि आफ्ना गाई, भैँसी तथा गोरुलाई नुहाइधुवाइ गरी सिँगार्न व्यस्त थिए। उनीहरूले चौपायालाई नयाँ नथ र डोरी लगाएर चौरमा ल्याएका थिए। पेटभर्वासहित टेंग्राहा, फतुवा र आसपासका बस्तीबाट आएका किसानहरूले आफ्ना चौपायालाई गाउँका विभिन्न टोलबाट एकै स्थानमा जम्मा गरेका थिए।
पृष्ठभूमि
- पेटभर्वाका स्थानीयवासीले भने वर्षौँदेखि यसलाई निरन्तरता दिँदै आएका छन् र नयाँ पुस्तालाई समेत सहभागी गराएर परम्परालाई जीवन्त राख्ने प्रयास गरिरहेका छन्।
पर्वको मुख्य आकर्षण चौपायाको बीचमा डोरीले बाँधिएको सुँगुरको बच्चालाई घिसार्ने परम्परा हो। सुँगुरको आवाज सुनेर चौपाया दौडिने यस परम्परालाई स्थानीय भाषामा ‘डाढ बोलाउने’ भनिन्छ। पर्वमा सहभागी हजारौँ स्थानीयवासीले चौपाया दौडिने दृश्यसँगै ‘हियालोलो’ भन्दै हुटिङ गरेका थिए। यस उत्सवमा परम्परागत विधिसँगै कुस्ती प्रतियोगिता र लौरो भाज्ने कार्यक्रमले थप आकर्षण बढाएको थियो।
पेटभर्वामा संस्कृति जोगाउने प्रयास
पशुपालनसँग जोडिएको यो सोहरैया पर्व किसानका लागि पुर्ख्यौली संस्कृति जोगाउने माध्यम पनि हो। स्थानीय जानकारहरूका अनुसार, बदलिँदो जीवनशैली, आधुनिकताको प्रभाव र नयाँ पुस्तामा घट्दो चासोका कारण कुनै समय रौतहटका विभिन्न गाउँमा उत्साहपूर्वक मनाइने यो पर्व अहिले धेरै ठाउँमा ओझेलमा पर्दै गएको छ।
तर, पेटभर्वाका स्थानीयवासीले भने वर्षौँदेखि यसलाई निरन्तरता दिँदै आएका छन्। उनीहरू नयाँ पुस्तालाई समेत सहभागी गराएर परम्परालाई जीवन्त राख्ने प्रयास गरिरहेका छन्। स्थानीय सञ्चारकर्मी दीपेन्द्र रजकले नयाँ पुस्तालाई मौलिक संस्कृतिसँग जोड्न यस्ता पर्वको संरक्षण, प्रचारप्रसार र निरन्तरता आवश्यक रहेको बताए।
किसानहरूमा जनविश्वास छ कि सोहरैयामा सहभागी गराउँदा गाईभैँसीमा रोगसँग लड्ने क्षमता बढ्छ र पशुधन स्वस्थ रहन्छ। यो पर्वले किसान र पशुपालनबीचको सम्बन्ध मात्र उजागर नगरी गाउँको सामाजिक एकता, सामूहिक सहभागिता र स्थानीय पहिचानलाई समेत प्रतिनिधित्व गर्छ।