NM Khabar 9 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सप्तरीमा जाली नोट र अभद्र व्यवहारसहित १४ प्रतिवादी पक्राउ

सप्तरी प्रहरीले जाली नोट कारोबारमा संलग्न दुई, अभद्र व्यवहारका तीन र अदालतबाट सजाय तोकिएर फरार रहेका नौ जनासहित १४ प्रतिवादीलाई पक्राउ गरेको छ।
Kamala Devi
Kamala Devi
9 May 2026, 2:02 pm १ मिनेट पढाइ
आकार:
Share:

सप्तरी प्रहरीले जाली नोट कारोबार, अभद्र व्यवहार र अदालतबाट सजाय तोकिएर फरार रहेका नौ जनासहित १४ प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डम्बरबहादुर पुरीका अनुसार, पक्राउ परेकामध्ये पाँच जनामाथि थप अनुसन्धान भइरहेको छ भने अदालतबाट सजाय तथा जरिवाना तोकिएर फरार रहेका नौ जनालाई अदालतमा पेश गरिएको छ। अभद्र व्यवहार मुद्दामा तीन, मुद्रासम्बन्धी कसुरमा दुई तथा अदालतबाट सजाय पाएर फरार रहेका नौ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

आइतबार राति राजविराज नगरपालिका ९ क्षेत्रमा गस्तीमा रहेको प्रहरी टोलीसँग अभद्र व्यवहार गरेको आरोपमा हनुमाननगर कङ्कालिनी नगरपालिका १ निवासी २१ वर्षीय आदित्य पाण्डेलाई पक्राउ गरिएको हो। घाइते अवस्थामा भेटिएका उनलाई सोधपुछ गर्ने क्रममा प्रहरीमाथि अश्लील शब्द प्रयोग गर्दै गालीगलौज गरेपछि नियन्त्रणमा लिइएको थियो। उनीमाथि जिल्ला प्रशासन कार्यालय सप्तरीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

त्यसैगरी, राजविराज नगरपालिका ६ स्थित नेता चोक क्षेत्रमा होहल्ला गरिरहेको अवस्थामा भेटिएका विष्णुपुर गाउँपालिका ६ निवासी १२ वर्षीय संजिव साह र सुनसरीको बरजू गाउँपालिका ५ निवासी २६ वर्षीय शिवनारायण पण्डितलाई पनि अभद्र व्यवहार मुद्दामा पक्राउ गरिएको छ। प्रहरीले सम्झाइबुझाइ गर्ने क्रममा उनीहरूले प्रहरीमाथि हातपात गर्न खोजेपछि नियन्त्रणमा लिइएको जनाएको छ। दुवै जनामाथि पनि पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

यस्तै, मुद्रा सम्बन्धी कसुरमा हनुमाननगर कङ्कालिनी नगरपालिका ११ सखुवा टोल निवासी २२ वर्षीय विवेककुमार पण्डित र सोही स्थानका २२ वर्षीय सचिनकुमार यादव पक्राउ परेका छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले हनुमाननगर कङ्कालिनी नगरपालिका १४ मल्हनिया क्षेत्रमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०६–००१ प ०९९५ नम्बरको रोयल इनफिल्ड मोटरसाइकलमा सवार उनीहरूको साथबाट एक हजार दरका सात थान नेपाली जाली नोट बरामद गरेको थियो। पक्राउ परेका दुवैमाथि जिल्ला अदालत सप्तरीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

Nmkhabar की मधेश प्रदेश संवाददाता। तराई क्षेत्रका राजनीतिक, कृषि र सामाजिक विषयमा जमिनी स्तरबाट रिपोर्टिङ गर्छिन्।

सम्बन्धित समाचार