NM Khabar 9 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मधेसमा मोटरसाइकल दुर्घटना: चैत मसान्तसम्म ३९८ को मृत्यु, युवा वर्ग उच्च जोखिममा

मधेस प्रदेशमा चालू आर्थिक वर्षको चैत मसान्तसम्म ८६२४ सवारी दुर्घटनामध्ये ५९७५ मोटरसाइकलका कारण भएका छन्। यी दुर्घटनामा ३९८ जनाको मृत्यु भएको छ, जसमा युवा वर्ग बढी प्रभावित छन्। तीव्र गति, लाइसेन्स अभाव र मादक पदार्थ सेवन मुख्य कारक हुन्।
Kamala Devi
Kamala Devi
9 May 2026, 9:00 pm १ मिनेट पढाइ
आकार:
Share:

मधेस प्रदेशमा चालू आर्थिक वर्षको चैत मसान्तसम्म ३९८ जनाको ज्यान लिने ८६२४ सवारी दुर्घटनामध्ये झन्डै दुई तिहाइ (५९७५) मोटरसाइकलका कारण भएका छन्।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म भएका दुर्घटनामा १४०९ जना गम्भीर घाइते र ८३२९ जना सामान्य घाइते भएका छन्। तथ्यांकअनुसार सवारी दुर्घटनामा मृत्यु हुनेमध्ये अधिकांश मोटरसाइकल दुर्घटनाका पीडित नै रहेका छन्।

मधेस प्रहरीका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाका अनुसार चैत मसान्तसम्म धनुषामा सबैभन्दा बढी १०४८ वटा मोटरसाइकल दुर्घटना भएका छन्। अन्य जिल्लामध्ये सप्तरीमा २९४, सिराहामा ७४०, महोत्तरीमा ५६८, सर्लाहीमा ९९४, रौतहटमा ८२१, बारामा ८४२ र पर्सामा ७१८ मोटरसाइकल दुर्घटना भएका छन्।

विगतका वर्षहरूमा पनि मोटरसाइकल दुर्घटना उच्च रह्यो। गत आर्थिक वर्ष २०८१/८२ मा कुल १०६७९ सवारी दुर्घटनामध्ये ७२०१ वटा मोटरसाइकल दुर्घटना थिए। त्यस्तै, आव २०८०/८१ मा ५९२६, आव २०७९/८० मा ५७४५, आव २०७८/७९ मा ५४१८ र आव २०७७/७८ मा ३७३७ वटा मोटरसाइकल दुर्घटना भएका थिए। यी सबै वर्षमा धनुषा जिल्लामै सबैभन्दा बढी दुर्घटना भएको तथ्यांक छ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी गोविन्द थपलियाका अनुसार तीव्र गति, लाइसेन्स नभएका युवाहरूले चलाउनु तथा लागूऔषध र मादक पदार्थ सेवन गरी सवारी चलाउनुले मोटरसाइकल दुर्घटना बढाएका छन्। उनले उमेर नपुगेका र लाइसेन्स नभएका युवाहरूले तीव्र गतिमा चलाउँदा तथा लागूऔषध र मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा अनियन्त्रित भई दुर्घटना बढाएको बताए।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराका ट्राफिक प्रहरी उपरीक्षक राजकुमार सिलवालले पनि तीव्र गतिलाई मुख्य कारण औंल्याएका छन्। उनका अनुसार लागूऔषध र मादक पदार्थ सेवन गरी आफूलाई बढी स्मार्ट देखाउने उद्देश्यले तीव्र गतिमा मोटरसाइकल चलाउँदा दुर्घटना बढेको छ। यसमा अधिकांश २५-३० वर्ष उमेर समूहका युवाहरू बढी संलग्न हुने गरेका छन्।

चालु वैशाख महिनाभित्रै पनि मधेसका विभिन्न स्थानमा मोटरसाइकल दुर्घटनाका घटना भएका छन्। वैशाख १२ गते धनुषाको गणेशमान चारनाथ नगरपालिकामा भएको दुर्घटनामा महोत्तरीका २१ वर्षीय अतुल चौधरीको मृत्यु भयो। वैशाख ८ गते धनुषाको ढल्केबरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु हुनुका साथै शिशुसहित ३ जना घाइते भएका थिए।

त्यस्तै, वैशाख १६ गते पथलैया-वीरगञ्ज सडकखण्डमा भएको दुर्घटनामा पर्साका राम चमारको मृत्यु भयो। वैशाख २५ गते लक्ष्मीनिया गाउँपालिकामा भएको स्कुटी दुर्घटनामा ३० वर्षीया पुनमदेवी साहको उपचारका क्रममा मृत्यु भएको थियो। यी सबै घटनामा तीव्र गति र युवा वर्गको संलग्नता प्रमुख कारण बन्यो।

ट्राफिक व्यवस्थापनका प्रवक्ता वकिलबहादुर सिंहका अनुसार मोटरसाइकल दुर्घटनामा पर्ने अधिकांश युवा नै हुने गरेका छन् र तीमध्ये धेरैजसोसँग लाइसेन्स छैन।

जनकपुरधाम उपमहानगरपालिका-२३ का स्थानीय अभी ठाकुरले दुर्घटना न्यूनीकरण प्रभावकारी नहुनुको कारण सरकार राजस्व संकलनमा केन्द्रित हुनु, ठोस कानुनको अभाव र सामाजिक व्यवहारिकता रहेको बताए। उनका अनुसार सरकारले मोटरसाइकल बिक्रीलाई प्रोत्साहन गर्ने तर लाइसेन्स सीमित संख्यामा वितरण गर्दा राजस्व संकलन र जरिवाना दुवैबाट फाइदा लिएको छ।

जलेश्वर नगरपालिका-४ की सुनेना यादवले लाइसेन्स नभएका, लापसे वा मापसे गर्ने चालकहरूलाई जरिवाना मात्रै लिएर छोड्दा उनीहरूको मनोबल बढेको र दुर्घटना बढिरहेको गुनासो गरेकी छन्।

ट्राफिक कार्यालय धनुषाका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले मोटरसाइकल दुर्घटना न्यूनीकरणका लागि विद्यालय तथा सडकहरूमा सचेतना अभियान जारी रहेको छ। उनले लाइसेन्स नभएका, लापसे मापसे गरी तथा तीव्र गतिमा मोटरसाइकल चलाउने चालकसँग जरिवाना लिएर मात्रै छोड्ने गरिएको स्वीकार गरेका छन्।

शाहीका अनुसार लाइसेन्स नभएका चालकलाई जरिवानाबाहेक अन्य कारबाहीको व्यवस्था छैन। यद्यपि सवारीधनीलाई सचेत गराउने तथा दुर्घटना भएका अवस्थामा कारबाहीको व्यवस्था छ। लापसे मापसे गरेको अवस्थामा जरिवाना वा सुधार केन्द्रमा पठाउने कानुनी व्यवस्था भए पनि न्यून कारबाहीले मोटरसाइकल दुर्घटना बढाएको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

Nmkhabar की मधेश प्रदेश संवाददाता। तराई क्षेत्रका राजनीतिक, कृषि र सामाजिक विषयमा जमिनी स्तरबाट रिपोर्टिङ गर्छिन्।

सम्बन्धित समाचार