झापाको बाहुनडाँगीमा हरेक रात ३० देखि ४० भारतीय हात्तीले किसानको मकै र सुपारी बाली सखाप पार्दैछन्।
मेचीनगर नगरपालिकाको वडा नं १, ४ र ५ मा पर्ने बाहुनडाँगीमा हात्ती प्रवेश गरिरहेका छन्। विगत एक सातादेखि दैनिक ३० देखि ४० को सङ्ख्यामा हात्ती नेपाल प्रवेश गरिरहेका छन्। यी हात्तीले किसानको पाकेको मकै, सुपारीलगायतका बालीमा ठूलो क्षति पुर्याएका छन्।
भारतको आसामबाट करिब १०० हात्तीको बथान दिनभर सीमापारिको जङ्गलमा बस्छन्। रात परेपछि त्यसबाट छुट्टिएर नेपाल प्रवेश गर्छन्, वडाध्यक्ष अर्जुन कार्कीले बताए। यस वर्ष पाक्न लागेको मकैबाली सखाप पारेको छ। सुपारीको बोट भाँचेर सोत्तर पारेको स्थानीय गोपी रिजालले जानकारी दिए।
केही महिनाभित्रै बाहुनडाँगीमा हात्तीको आक्रमणबाट तीन जना घाइते भए। १५ वटा घरमा क्षति पुगेको रिजालले बताए। बाली पाक्ने बेलामा भारतबाट सयौँ हात्ती भित्रिन्छन्। बर्सेनि जनधनको क्षति दोहोरिने गरेको पूर्वअध्यक्ष निरज घिमिरेले बताए।
हात्ती प्रवेश रोक्न र स्थानीयलाई सुरक्षा प्रदान गर्न सर्वपक्षीय बैठक बस्यो। सुरक्षाकर्मी, वन रक्षक र रेपिड रेस्पोन्स टिम परिचालन गर्ने निर्णय भयो, वडाध्यक्ष कार्कीले बताए।
बैठकले भारतीय वन अधिकारी र सरकारी निकायसँग हात्ती रोक्न छलफल गर्ने निर्णय गर्यो। साँझ ६ बजेपछि हात्ती हेर्ने निहुँमा प्रवेश नाकाहरूमा सर्वसाधारणलाई रोक लगाइनेछ। प्रभावित क्षेत्रमा मौसमी तारबार लगाउने र हात्ती खेदाउन ट्रयाक्टर परिचालन गर्ने निर्णय भयो। ट्रयाक्टरका लागि नगरपालिकाले इन्धन उपलब्ध गराउनेछ। रातको समयमा हिँडडुल नगर्न माइकिङ गर्ने पनि निर्णय भएको छ।
मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चका अध्यक्ष हरिप्रसाद उप्रेतीका अनुसार १८ किलोमिटर सौर्य तारबार मर्मत गरिँदैछ। बाहुनडाँगीको सीमावर्ती तीन वडामा हात्ती प्रवेश रोक्न यो तारबार लगाइएको थियो। एक दशकअघि जडान गरिएको तारबारका अधिकांश ब्याट्री फेर्नुपर्ने अवस्थामा छन्।
राष्ट्रिय प्रकृति संरक्षण कोष, डिभिजन वन कार्यालय र मेचीनगर नगरपालिकाले ३० लाख रुपैयाँ बजेट छुट्याए। सो बजेटमा सौर्य तारबार मर्मत गरिने उप्रेतीले बताए। सीमा क्षेत्रमा जडान गरिएको सौर्य तारबारको ब्याट्री चोरी भएको छ। नयाँ ब्याट्री फेर्नुपर्ने माग स्थानीय गोपी रिजालले गरे।
पूर्वअध्यक्ष घिमिरेले भारत सरकारसँग उच्चस्तरीय वार्ताको माग गरे। हात्तीको बथान रोकिनुपर्ने उनको भनाइ छ।
