राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८२ को एसईई नतिजा अबको चार दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले नतिजा प्राप्त गर्ने माध्यमहरूको सूची सार्वजनिक गर्यो।
बोर्ड सदस्यसचिव जङ्गबहादुर अर्यालले रातोपाटीलाई प्राविधिक समस्या नआए बैशाखभित्रै नतिजा सार्वजनिक हुने बताए।
बोर्डले नियमित तथा ग्रेडवृद्धि दुवै परीक्षाको नतिजा एसएमएस, आईभीआर र वेबसाइटमार्फत हेर्न सकिने जनाएको छ।
एसएमएस वा फोनबाट नतिजाका लागि नेपाल टेलिकमको १६०० मा डायल वा एसएमएस गर्न सकिनेछ। जानकी टेक्नोलोजीको ३५००१ र एम्बिसन गुरुको ३१०६९ मा पनि एसएमएस पठाउन सकिनेछ।
विस्तृत मार्कसिट डाउनलोड गर्न १४ वेबसाइटलाई अनुमति दिइएको छ। परीक्षार्थीले www.see.gov.np र www.neb.gov.np मा सिम्बोल नम्बर र जन्ममिति प्रविष्ट गरी नतिजा हेर्न सक्छन्।
नेपाल टेलिकम, कान्तिपुर पब्लिकेसन्स, इडियु सञ्जाल, खल्ती एप, निमा एजुकेशन, फोनिक्स एजुकेशन, एम्बिसन गुरु, मेरो स्टडी, इन्द्रेणी टाइम्सका पोर्टलबाट पनि नतिजा हेर्न सकिनेछ। परीक्षा नियन्त्रण कार्यालयले आधिकारिक माध्यमबाट मात्र नतिजा रुजु गर्न अनुरोध गरेको छ।
गत चैत १९ देखि २९ गतेसम्म सञ्चालित एसईई परीक्षामा ५ लाख १२ हजार ४२१ विद्यार्थीले फाराम भरेका थिए। नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ परीक्षार्थी सहभागी थिए। बोर्डका अनुसार, २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र ७ अन्य परीक्षार्थी थिए।
