राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को बजेट अधिवेशन प्रारम्भसँगै सोमबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरिका अनुसार राष्ट्रपति पौडेलले अपराह्न ४ बजे संविधानको धारा ९५ अनुसार नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।
नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा दिउँसो ३:४५ बजेअघि नै उपस्थित हुन प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यलाई संसद् सचिवालयले अनुरोध गरेको छ।
त्यसअघि दिउँसो २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठक बस्नेछन्।
प्रतिनिधिसभाको बैठकमा नियमावलीको मस्यौदा र सरकारबाट जारी भएका अध्यादेशहरू पेश गर्ने कार्यसूची रहेको छ। प्रधानमन्त्रीले तीन वटा र पाँच जना मन्त्रीले एक/एक वटा अध्यादेश पेश गर्ने कार्यसूची छ।
