धनुषाका निलम्बित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला सभापति लक्ष्मेश्वर यादवलाई पार्टीले जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुखविरुद्ध सार्वजनिक रूपमा ‘आधारहीन’ अभिव्यक्ति दिएको भन्दै ३ दिनभित्र पार्टी कार्यालयको साँचो बुझाउन निर्देशन दिएको छ। रास्वपा मधेस प्रदेश कार्यालयले २०८३ कार्तिक १० गते पत्र काट्दै यादवलाई कडा कारबाहीको चेतावनीसहित स्पष्टीकरण सोधेको हो।
रास्वपा मधेस प्रदेशका महामन्त्री मनिष कुमार साहद्वारा हस्ताक्षरित पत्रमा कार्तिक ९ गते जिल्ला प्रहरी कार्यालय धनुषाले जारी गरेको प्रेस विज्ञप्तिप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ। पार्टीले यादवलाई प्रहरी प्रमुखलाई लक्षित गरी लगाएका आरोपको तथ्य र प्रमाणसहित ५ बुँदे लिखित जवाफ मागेको छ।
प्रहरी घेराउ र पद दुरुपयोगको आरोप
पार्टीले यादवलाई प्रहरी कार्यालय घेराउ गर्ने, धम्की दिने वा अनुचित दबाब सिर्जना गर्ने आशयको अभिव्यक्ति दिएको हो वा होइन भनी प्रश्न गरेको छ। प्रहरीले विज्ञप्तिमा उल्लेख गरेअनुसार पारिवारिक महिला सदस्य हराएको भन्ने निवेदनसँग सम्बन्धित घटनामा आफ्नो पदको दुरुपयोग गरी दबाब दिएको भन्ने प्रहरीको दाबीप्रति उनको भनाइ पनि मागिएको छ।
यादवको सार्वजनिक अभिव्यक्तिले पार्टीको विधान, आचारसंहिता र सार्वजनिक विश्वसनीयतामा कस्तो प्रभाव पार्छ भनी पनि स्पष्टीकरण सोधिएको छ।
निलम्बित अवस्थामा पनि पार्टी प्रतिनिधित्व
रास्वपाले यादवलाई जिल्ला सभापतिको पदीय जिम्मेवारीबाट निलम्बित रहेको अवस्थामा पनि सार्वजनिक कार्यक्रममा पार्टीको प्रतिनिधित्व गर्ने र पार्टी कार्यालय नियन्त्रणमा लिने काम गरेको भन्दै कडा आपत्ति जनाएको छ। पार्टीले अर्को निर्णय नभएसम्म यस्ता गतिविधि नगर्न र ३ दिनभित्र जिल्ला पार्टी कार्यालयको साँचो प्रदेश सभापतिमार्फत धनुषा जिल्लाका कार्यवाहक सभापतिलाई हस्तान्तरण गर्न कडा निर्देशन दिएको छ।
रास्वपाले यादवलाई ३ दिनभित्र चित्तबुझ्दो, तथ्यपरक र प्रमाणमा आधारित लिखित स्पष्टीकरण पेस गर्न भनेको छ। तोकिएको समयभित्र स्पष्टीकरण पेस नगरेमा वा चित्तबुझ्दो नभएमा विधानबमोजिम आवश्यक निर्णय प्रक्रिया अघि बढाउने चेतावनी दिइएको छ।
