सिरहामा गोली हानी हत्या र ज्यान मार्ने उद्योगमा संलग्न दुई मुख्य योजनाकारलाई जिल्ला प्रहरी कार्यालय सिरहाले पक्राउ गरी सार्वजनिक गरेको छ।
प्रहरीका अनुसार २०८२ माघ महिनामा भएका दुई छुट्टाछुट्टै घटनामा संलग्न योजनाकारहरूलाई सूक्ष्म अनुसन्धानपछि कानुनी दायरामा ल्याइएको हो।
२०८२ माघ १६ गते सिरहा नगरपालिका वडा नम्बर ७ मा ४२ वर्षीय प्रेमनाथ यादवको गोली हानी हत्या गरिएको घटनामा मृतककै छिमेकी ५२ वर्षीय उपेन्द्र यादव पक्राउ परेका छन्।
पूर्वशिक्षक समेत रहेका यादवले पारिवारिक रिसइबीका कारण बदला लिन भारतीय अपराधीहरूको सहयोग लिई ३ लाख रुपैयाँमा सुपारी डिल गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनले एडभान्स स्वरूप १ लाख रुपैयाँ दिइसकेको प्रहरीले जनाएको छ।
यस घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षकको कमाण्डमा टोली गठन गरी बीटीएस, सीडीआर, सोधपुछ र पोलिग्राफ टेस्ट समेत गरिएको थियो। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र भारतीय प्रहरीको सहयोगमा भारतीय अपराधीको संलग्नता पुष्टि भएको हो।
पक्राउ परेका उपेन्द्र यादवले आफ्नो संलग्नता स्वीकार गरिसकेका छन्। उनीमाथि कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ। घटनामा संलग्न अन्य भारतीय अपराधीहरूको खोजी कार्य जारी छ।
त्यसैगरी, २०८२ माघ ४ गते औरही गाउँपालिका वडा नम्बर ५ स्थित जितिया मन्दिरका ५५ वर्षीय पुजारी श्याम सुन्दर शर्मामाथि गोली प्रहार गरी घाइते बनाइएको घटनामा पनि प्रहरीले सफलता प्राप्त गरेको छ। मन्दिरभित्र सुतिरहेको अवस्थामा पुजारीलाई टाउकोको पछाडि गोली हानी गम्भीर घाइते बनाइएको थियो।
यस घटनाको अनुसन्धानका क्रममा औरही गाउँपालिका वडा नम्बर ५ कै ५५ वर्षीय हरि ठाकुर पक्राउ परेका छन्। उनले पारिवारिक रिसइबीका कारण भारतीय सुटरलाई ५० हजार रुपैयाँ दिएर पुजारीको ज्यान मार्ने उद्देश्यले गोली प्रहार गराएको खुलेको छ।
यी दुवै घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक रमेश बहादुर पालले थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
