नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले छुट्टै कार्यालय खोज्दै पार्टी फूटको संघारमा पुगेको खुलासा गरेका छन्।
केन्द्रीय कार्यसमिति सदस्य मनोनयनमा आफूहरूको असहमति छ। उनले विशेष महाधिवेशनप्रति पनि असन्तुष्टि व्यक्त गरे। नेता निधिले देशभरका करिब ४६ प्रतिशत महाधिवेशन प्रतिनिधि प्रक्रियाबाट बाहिर रहेको दाबी गरे।
जनकपुरधाममा मंगलबार निधिले सञ्चारकर्मीहरूसँग कुरा गरे। पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका निधिले छलफलविना मनोनयनमा असहमति जनाए। सभापति गगन कुमार थापाले १९ जना केन्द्रीय समिति सदस्य मनोनित गरेका थिए।
उनले पार्टीभित्र सहमति निर्माणका लागि प्रभावकारी प्रयास नभएको आरोप लगाए। मनोमानी महाधिवेशनप्रति निधिले असहमति जनाए। आफूहरू पनि महाधिवेशनको तयारीमा रहेको उनले स्पष्ट पारे।
नेता निधिले विशेष महाधिवेशनलाई आफूहरूले मान्यता नदिने बताए। साझा एकताका लागि १४औँ र विशेष महाधिवेशन पक्षधर दुवै कार्यसमिति संयुक्त अघि बढ्नुपर्छ।
उनले १५औँ महाधिवेशनको तयारीमा केन्द्रित हुन नेता तथा कार्यकर्तालाई आह्वान गरे। १५औँ महाधिवेशनका लागि सदस्यता नवीकरण प्रक्रिया सम्पन्न भइसकेको छ। पुनः नवीकरण आवश्यक नरहेको निधिले स्पष्ट पारे।
उनले नवीकरण व्यवस्थापनको जिम्मेवारी महामन्त्री गगन थापालाई दिइएको स्मरण गराए। निधिले कार्यकर्तालाई नवीकरणमा सहभागी नहुन आग्रह गरे। निजी स्वार्थमा नवीकरण भइरहेको उनले आरोप लगाए।
निधिले सातै प्रदेशमा परामर्श अभियान थालेका छन्। पार्टीभित्र छलफल र समन्वय बढाउनु यसको उद्देश्य हो। मधेश प्रदेशको जिम्मेवारी आनन्द ढुंगानालाई दिइएको छ। कोशी र बागमतीमा पनि भेला तथा छलफल भइरहेको उनले दाबी गरे।
निधिको छुट्टै कार्यालय सञ्चालन अभिव्यक्तिले पार्टी फूटतर्फ उन्मुख भएको स्थानीय नेताहरूले अथ्र्याए। आफूहरू र विशेष महाधिवेशन पक्षधरबीच मेलमिलाप भ्रममात्रै रहेको उनले प्रस्ट्याए।
मनोनित केन्द्रीय सदस्यहरू व्यक्तिगत निर्णयले अर्को पक्षमा गएको हुनसक्छ। सोमबार सभापति थापाले १९ जना केन्द्रीय सदस्य मनोनयन गरेका थिए। मनोनित हुनेमा महेन्द्र यादव, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, चन्द्रकान्त भण्डारी, अजयकुमार चौरसिया, जीवन परियार छन्।
