मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले जेठ ८ गते लिने भनिएको विश्वासको मत जसपा नेपालको विभाजनले अनिश्चित बनेको छ।
जसपा नेपालको मधेस प्रदेश संसदीय दलको शुक्रबार बसेको बैठकले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिनेबारे निर्णय लिन सकेन। यसकारण मुख्यमन्त्री यादवले विश्वासको मत लिने पूर्वनिर्धारित समयसमेत हेरफेर गर्नुपर्यो।
पार्टीका २६ जना प्रदेश सांसदमध्ये अधिकांशले वर्तमान सरकारमा जान नहुने धारणा राखेका छन्। सरकारमा जानैपर्ने अवस्था आएमा आफूहरूले नै नेतृत्व गर्नुपर्ने उनीहरूको भनाइ छ।
बैठक स्रोतका अनुसार, पूर्वमुख्यमन्त्री लालबाबु राउत, मनिष सुमन, राजु गुप्ता र रानी शर्मालगायतका सांसदहरूले वर्तमान सरकारलाई निरन्तरता दिनुपर्ने पक्षमा वकालत गरेका छन्।
हाल सरकारमा रहेका मनिष सुमन, रानी शर्मा तिवारी र राजु गुप्ताले नीति तथा कार्यक्रम र बजेट बनाउने समयमा सरकार फेरबदलमा लाग्न नहुनेमा जोड दिए। राउतले पनि हालसम्म वर्तमान सरकारलाई समर्थन गर्ने सहमति बनेको बताए।
जसपा नेपालका केही नेताहरूले मुख्यमन्त्री यादवले लक्ष्य अनुरूप काम गर्न नसकेको भन्दै आलोचना गरिरहेका छन्। उनीहरूले वर्तमान सरकारको कार्यमूल्यांकन कमजोर रहेको दाबी गरेका छन्।
पूर्वमुख्यमन्त्री एवं जसपा नेपालका नेता सरोज यादव (बारा) ले नीति तथा कार्यक्रम र बजेटले तय गरेका कामहरू समेत गर्न नसकिएको आरोप लगाए। उनले मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्नेमा पार्टीले अझै निर्णय गर्न बाँकी रहेको बताए।
जसपा नेपालकै प्रदेश सभा सदस्य जैनुल राइनले प्रदेशले जुनसुकै निर्णय गरेपनि अन्तिममा केन्द्रको निर्देशन नै सर्वमान्य हुने बताए। उनले जेठ ८ गतेभित्र आउने केन्द्रको निर्देशन अनुसार नै आफूहरू अघि बढ्ने स्पष्ट पारे।
जसपा नेपाल र लोसपा नेपालबीच एकता भई निर्वाचन आयोगले मान्यता दिइसकेपछि मधेस प्रदेशमा संसदीय दलको नेता बन्न नेताहरूबीच दौडधुप चलेको छ। प्रदेशले नेता चयन गर्न नसके केन्द्रले निर्णय गरेर पठाउने सम्भावना रहेको एक नेताले बताए।
