काठमाडौंमा प्रजातान्त्रिक विकास समाजले आइतबार आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगन थापाले १४औं महाधिवेशनका सबै निर्वाचित सदस्यलाई जिम्मेवारी दिने घोषणा गरे।
कसैलाई वरिष्ठ बनाउनुपरे त्यसका लागि पनि तयार रहेको उनले बताए। निर्वाचन समिति, सदस्यता समिति लगायत संरचनामा इतर समूहलाई सहभागी गराउने थापाले उल्लेख गरे।
थापाले भने, ‘१४औं महाधिवेशनबाट निर्वाचित ठूलो पङ्क्ति बाहिर छ। प्रत्येकलाई ल्याएर, सहभागी भएर काम गर्न चाहन्छु।’ अधिवेशनको मिति तय भइसकेको छ। निर्वाचन समितिमा अन्य सदस्यहरूलाई कसरी समावेश गर्ने भन्नेबारे छलफल गर्ने उनले बताए।
पार्टी राष्ट्रिय एजेन्डामा केन्द्रित भए पनि आन्तरिक विषयलाई उत्तिकै महत्त्व दिएको थापाले स्पष्ट पारे। जिम्मेवारी बाँडफाँट गर्दा विशेष महाधिवेशनमा सहभागी भए नभएको आधार नबनाइने उनले बताए।
‘अवसरको सन्दर्भमा, को विशेषमा आएको थियो, थिएन भन्ने कुरामा निर्णय हुँदैन,’ थापाले भने।
क्रियाशील सदस्यता सम्बन्धमा महामन्त्री प्रदीप पौडेलको समितिमा हेरफेर गर्न सकिने थापाले बताए। तर, सदस्यता अद्यावधिक नगर्ने भन्न नमिल्ने उनको भनाइ छ। उनले भने, ‘नयाँ साथी ल्याउनुस्, सबलाई जोड्नुस् भनेको।’
