बाराको कलैयामा जिल्ला प्रहरी कार्यालयअगाडि तेस्रो लिंगी समुदायले प्रदर्शन गर्दा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।
कुटपिटमा संलग्न खुस्बु भनिने तेस्रो लिंगीलाई आइतबार नियन्त्रणमा लिएपछि प्रदर्शन चर्किएको हो।
एसपी नरेन्द्र कुँवरका अनुसार कलैया-५ का सरिफ मियाँ भाटको जाहेरीमा खुस्बु पक्राउ परेका हुन्। भाट समुदायका मानिसहरूमाथि तेस्रो लिंगीले कुटपिट गरेको जाहेरीमा उल्लेख छ।
जाहेरीमा बच्चा जन्मिएपछि नाचगान गरी पैसा लिने परम्परामा विवाद उल्लेख छ। तेस्रो लिंगी समुदायले भने नाचगान र दुवाबापत पैसा पाउने अधिकार आफूहरूको भएको दाबी गर्छन्।
आफ्नो समुदायका सदस्यलाई अनाहकमा पक्राउ गरी मुद्दा चलाएको भन्दै तेस्रो लिंगीहरूले विरोध जनाएका हुन्। सोमबार बिहान करिब आधा घण्टासम्म चलेको प्रदर्शनका क्रममा केही प्रदर्शनकारी अर्धनग्न अवस्थामा समेत थिए।
उनीहरूले प्रहरीविरुद्ध नाराबाजी गर्दै जिल्ला प्रहरी कार्यालयको मूल गेट फोड्ने प्रयाससमेत गरेका थिए। प्रहरीले बल प्रयोग गरी तीन प्रदर्शनकारीलाई नियन्त्रणमा लियो, एसपी कुँवरले बताए।
