चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङमा जंगली च्याउ खाँदा गम्भीर बिरामी परेका तीन चेपाङ बालबालिकाको ज्यान गएको छ। मृत्यु हुनेमा नौ वर्षीया नमूना चेपाङ, ११ वर्षीय सञ्जय चेपाङ र १३ वर्षीया मनिता चेपाङ छन्। उनीहरू श्यामबहादुर चेपाङका सन्तान हुन्।
राष्ट्रिय माध्यमिक विद्यालय हात्तीबाङका प्रधानाध्यापक लोकबहादुर मगरका अनुसार नमूनाको यही जेठ १ गते घरमै निधन भएको थियो। सञ्जयको गत शनिबार राति उपचारका क्रममा मृत्यु भयो। मनिताको आज बिहान ६ बजे भरतपुर अस्पतालमा ज्यान गएको हो।
गत वैशाख २९ गते श्यामबहादुर चेपाङको पाँच जनाको परिवारले जंगलबाट ल्याएको च्याउ पकाएर खाएका थिए। च्याउ खाएपछि परिवारका सदस्यहरू बिरामी परेका थिए।
गम्भीर अवस्थामा रहेका तीन बालबालिकालाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो। दुर्भाग्यवश, उनीहरूलाई बचाउन सकिएन।
मृतक नमूना कक्षा २, सञ्जय कक्षा ३ र मनिता कक्षा ५ मा अध्ययनरत रहेको विद्यालयले जनाएको छ।
दुई बालबालिकाको दाहसंस्कार भइसकेको छ। आज मृत्यु भएकी बालिकाको शव बुझ्ने तयारी भइरहेको प्रअ मगरले बताए। मृत बालबालिकाका बुबाआमा भने सकुशल छन्।
