बाजुराको लाम्पाटामा सीमा विवादले उग्र रूप लिएपछि धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल नेतृत्वको टोली साइपाल हिमालको रानीसैन बेसक्याम्प जानबाट रोकिएको छ। ‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ’ अभियानमा निस्किएको टोलीमाथि करिब तीन सयको संख्यामा रहेका हुम्लाको खार्पुनाथ–२ थालीका स्थानीयले ढुंगामुढा गरेका थिए।
टोलीमा सहभागी जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाले भागेर ज्यान जोगाए। यो घटना बाजुरा–हुम्ला सीमा विवादसँग जोडिएको छ।
लाम्पाटा क्षेत्रमा प्रहरी चौकी निर्माणका लागि जग्गा दान गरेका हिमाली गाउँपालिका–३ का वडा सदस्य पेमा गारा गुरुङ र उनकी श्रीमती लक्ष्मी गुरुङमाथि जेठ ३ गते घरमै मरणासन्न हुनेगरी कुटपिट भएको थियो। थाली गाउँका बासिन्दाले लाम्पाटा क्षेत्रमा विगतदेखि नै दाबी गर्दै आएका थिए।
जिल्ला प्रहरी कार्यालय बाजुराले टोलीले ड्रोन उडाउँदा विवाद बढेको विवरण पठाएको छ। तर, हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर मल्लले आक्रमण सीमा विवाद र योजनाबद्ध भएको बताए। अध्यक्ष मल्लका अनुसार, धनगढीको टोली पुग्नुअघि नै वडा सदस्यको परिवारलाई नियन्त्रणमा लिइएको थियो। जिल्ला प्रहरी प्रमुखले घटना सामान्य भएको बताएपछि टोली अघि बढेको थियो, तर पुग्दा अवस्था फरक थियो।
प्रहरी प्रशासनले पर्याप्त सूचना नदिएका कारण दोस्रो आक्रमणको स्थिति बनेको अध्यक्ष मल्लले बताए। ‘जिल्लाका प्रहरी प्रमुखले घटना सामान्य हो, साम्य भइसक्यो भन्नुभयो,’ मल्लले अनलाइनखबरलाई भने, ‘त्यसपछि धनगढीको टोली अघि बढेको हो। तर त्यहाँ पुग्दा अवस्था अर्कै देखियो। बल्लतल्ल ज्यान जोगाएर फर्कियौँ।’
मेयर हमालले पनि स्थानीयबीच सीमा विवाद रहेको र कुटपिटबारे पूर्वजानकारी नभएको बताए। ‘वडा सदस्यलाई कुटपिट गरेको थाहा पाएपछि हामी डाँडा चढेनौँ। हिमालीको अध्यक्षमाथि आक्रमण हुन थालेपछि उहाँ दौडिँदै तल आइपुग्नुभयो,’ हमालले भने, ‘आक्रोशित समूहले काठे पुल पनि भत्काइदिए। त्यसपछि हामी पनि फर्कियौँ।’ हमालले ड्रोन उडाएका कारण घटना नभएको स्पष्ट पारे।
भ्रमण तालिकाबारे २९ वैशाखमै बाजुराका प्रमुख जिल्ला अधिकारीलाई जानकारी दिइएको थियो। तर, सुरक्षा निकायले घटनाबारे टोलीलाई जानकारी नदिएकै कारण उनीहरु आक्रमणमा परे।
मरणासन्न हुनेगरी कुटिएका वडा सदस्यसहितलाई सरकारले हेलिकप्टरमार्फत उद्धार गरेको छ।
