काठमाडौं । प्रहरीले शंकास्पद गतिविधिमा संलग्न दुई चिनियाँ नागरिकलाई नक्सालबाट पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा वाङ वेन्ड र चेन शुआन्गुई छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले उनीहरूले भिसाको उद्देश्य विपरीतका गतिविधि गरेको जानकारी दिए ।
काठमाडौं महानगरपालिका–१ नक्साल नारायणचौर क्षेत्रमा ‘भिजिट भिसा’मा नेपाल आई शंकास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा उनीहरू पक्राउ परेका हुन् । प्रहरीका अनुसार पक्राउ परेकाहरूले आरआर बिल्डिङ एन्ट्रो टेक्नोलोजी नामक कार्यालय खोली लाइभ हब एपमार्फत विदेशी र भारतीय नागरिकसँग सम्पर्क गरी पैसा माग्ने गरेका थिए । निजहरूलाई अध्यागमन ऐनअन्तर्गत कारबाहीका लागि अध्यागमन विभाग पठाइएको छ ।
