दुग्ध विकास संस्थान (डीडीसी)ले करिब १३५ टन बटरलाई घिउमा प्रशोधन गरी दुबई निर्यात थालेको छ। डीडीसी र ‘रातो र चन्द्र–सूर्य इन्टरनेसनल’ कम्पनीबीचको सम्झौताअनुसार पहिलो चरणमा ६ सय किलो घिउ दुबई पठाइएको छ।
वर्षौंदेखि डीडीसीका गोदाममा थुप्रिएको बटरलाई घिउमा रूपान्तरण गरी अन्तर्राष्ट्रिय बजारमा पठाउन थालिएको हो। आन्तरिक बजारमा बटरको खपत सुस्त हुँदा बर्सेनि सिर्जना हुने ‘मिल्क होलिडे’ र मौज्दातको समस्यालाई यो निर्यात रणनीतिले निकास दिनेछ।
हिउँदमा अत्यधिक दुध उत्पादन हुँदा बटर र धुलो दुध बनाएर भण्डारण गरिन्छ। देशभित्र बटरको माग सीमित र उत्पादन लागत बढी हुँदा डीडीसी लगायतका उद्योगमा सयौँ टन बटर बिक्री नभई गोदाममै थुप्रिने गरेको थियो।
संस्थानका महाप्रबन्धक शरणकुमार पाण्डेका अनुसार यो मौज्दातले भण्डारण खर्च बढाएको थियो। संस्थानको कार्यपुँजी रोकिने समस्या व्यवस्थापन गर्न डीडीसीले बटरलाई घिउमा परिणत गरी वैदेशिक बजारमा पठाउने योजना ल्याएको हो। यसले मौज्दातलाई नगदमा रूपान्तरण गर्न सहयोग पुर्याउनेछ।
महाप्रबन्धक पाण्डेका अनुसार उनको नेतृत्व सुरु हुँदा डीडीसीसँग बटर र घिउको ठुलो मौज्दात थियो। आन्तरिक बजारमा बिक्री गरेर व्यवस्थापन गर्न कठिन भइरहेको थियो। यसले संस्थानको वित्तीय सन्तुलनमा असर पारेको थियो। मौज्दात थुप्रिँदा भण्डारण खर्च बढेको थियो। किसानहरूको भुक्तानी बक्यौता रहँदा संस्थानले चर्को दबाब झेल्नुपरेको थियो।
यही समस्या समाधान गर्न संस्थानले आन्तरिक बजार प्रवर्द्धनका साथै अन्तर्राष्ट्रिय बजारको ढोका ढकढक्यायो। पाण्डे भन्छन्, ‘हामीले खाडी मुलुकमा नेपाली उत्पादन आपूर्ति गर्दै आएको रातो र चन्द्र–सूर्य इन्टरनेसनल प्राइभेट लिमिटेडसँग सम्पर्क गर्यौँ।’ खाडी क्षेत्रमा नेपाली घिउको माग र सम्भावना राम्रो भए पनि सरकारी संस्था सिधै पुग्न व्यावहारिक जटिलता थियो। त्यसैले निजी क्षेत्रको व्यावसायिक सञ्जाल उपयोग गरी साझेदारीको वातावरण निर्माण गरियो।
दुवै पक्षबीच वार्षिक न्यूनतम ५० हजार किलो (५० टन) घिउ आपूर्ति गर्ने सम्झौता भयो। सोही सम्झौताको पहिलो चरणमा परीक्षण स्वरूप ६ सय किलो घिउ दुबई पठाइएको छ। यसको नेपाली बजार मूल्य करिब ५ लाख ५० हजार रुपैयाँ छ।
दुबईको कडा खाद्य सुरक्षा मापदण्डमा नेपाली घिउ प्रवेश गराउनु कानुनी र प्राविधिक चुनौती थियो। डीडीसीले गुणस्तर परीक्षण र सरकारी प्रमाणीकरणलाई प्राथमिकता दियो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशालामा घिउको रासायनिक र जैविक परीक्षण गरियो। यो घिउ अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल प्रमाणित भएपछि विभागले ‘हेल्थ सर्टिफिकेट’ जारी गर्यो।
दुबईमा आयातकर्ता कम्पनीले स्थानीय निकाय (दुबई म्युनिसिपालिटी) बाट आवश्यक कानुनी र आयात स्वीकृति प्राप्त गर्यो। उपभोक्ताको सहजताका लागि ३५० मिलीलिटरको सिसाको जारमा घिउ प्याकेजिङ गरियो। सिसाको भाँडोले घिउको मौलिक सुगन्ध र गुणस्तर सुरक्षित राख्छ। यसको उपभोग्य अवधि एक वर्षसम्म सुनिश्चित हुन्छ।
यो निर्यातले डीडीसीको आन्तरिक व्यवस्थापन र किसानको हितमा टेवा पुर्याउने अपेक्षा छ। निर्यात आम्दानीले किसानको बक्यौता भुक्तानी सहज बनाउनेछ। महाप्रबन्धक पाण्डेका अनुसार संस्थानले किसानहरूको भुक्तानी अवस्थामा करिब ९० प्रतिशत सुधार ल्याइसकेको छ। आगामी भदौ १५ गतेभित्र भुक्तानी चक्रलाई पूर्ण रूपमा व्यवस्थित गरी नियमित १५ दिने प्रणालीमा लैजाने लक्ष्य छ।
यस निर्यात प्रक्रियालाई दिगो बनाउन संस्थानसँग हाल करिब १३५ टन बटरको भौतिक मौज्दात छ। दुधको उत्पादनमा आउने मौसमी उतारचढाव सन्तुलन गर्न संस्थानले आगामी असोजदेखि धुलो दुध प्लान्ट पूर्ण क्षमतामा सञ्चालन गर्नेछ। यसले हिउँदमा उत्पादित अतिरिक्त दुधलाई बटर र पाउडरमा रूपान्तरण गरी वर्षभरि घिउको स्थिर आपूर्ति सुनिश्चित गर्नेछ।
भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/७९ मा २१ हजार ६ सय २९ किलो घिउ र २ लाख ६६ हजार रुपैयाँको बटर निर्यात भएको थियो। आर्थिक वर्ष २०८०/८१ मा १८ हजार ९ सय २३ किलो घिउ निर्यात भयो। गत आर्थिक वर्ष २०८२/०८३ मा ३९ हजार ८ सय ५९ किलो घिउ निर्यात भयो, जसमा जापानको हिस्सा बढी थियो।
यसअघि कोभिड समयमा जापानमा घिउ पठाइए पनि निरन्तरता पाएन। अहिले दुबईमा पहिलो पटक घिउ पठाएपछि डीडीसीले आगामी दिनमा मलेसिया, दक्षिण कोरिया र जापानमा निर्यात बढाउने गृहकार्य गरिरहेको छ। गुणस्तर र आपूर्ति शृङ्खलालाई निरन्तरता दिन सकेमा नेपालको कृषिजन्य व्यापार घाटा कम गर्न यो कदम सहयोगी हुने पाण्डे बताउँछन्।
