काठमाडौंको शंखमुलस्थित होस्टेलमा साथीको चक्कु प्रहारबाट २२ वर्षीय वसन्त कालाथोकीको हत्या भएको छ। यो खबरले विक्षिप्त बनेकी उनकी आमाले दाङमा आत्महत्या गरेकी छिन्। हाल मलेसियामा रहेका बाबु दुवैको शव एकैसाथ बुझ्न घर फर्कंदैछन्।
वैदेशिक रोजगारीका लागि विदेश जाने तयारीमा रहेका दाङका वसन्तको शुक्रबार बिहान होस्टेलभित्रै सामान्य विवादका क्रममा चक्कु प्रहारबाट ज्यान गएको हो। प्रहरीका अनुसार घटनामा संलग्न दुई युवालाई पक्राउ गरिएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार, बिहीबार साँझ वसन्त, बाराका १९ वर्षीय शेखर यादव र प्रमित पटेलसहितका साथीहरू शंखमुलकै एक रेस्टुरेन्टमा मदिरा पिउन गएका थिए। राति ११ बजेसम्म खानपिन गर्ने क्रममा उनीहरूबीच सामान्य विवाद भयो र हात हालाहालसमेत भयो।
रेस्टुरेन्टबाट फर्किएपछि राति कुरा साम्य भएजस्तो देखिए पनि भोलिपल्ट बिहान त्यसले बीभत्स रूप लियो। शुक्रबार बिहान करिब १०:१० बजे शेखर र प्रमित चक्कु लिएर सीधै तेस्रो तल्लामा रहेको वसन्तको कोठामा पुगे।
कोठामा बसिरहेका वसन्तमाथि सुरुमा टी-टेबलले टाउकोमा प्रहार गरियो र त्यसलगत्तै उनीहरूले अन्धाधुन्ध चक्कु हाने। कोठामा रहेका अरू दुई साथीले रोक्न खोज्दाखोज्दै २० सेकेन्डभित्रै वसन्तलाई रक्ताम्य बनाएर उनीहरू भागे।
होस्टेलको प्यासेजमा छटपटाइरहेका वसन्तलाई तत्कालै मीनभवनस्थित सिभिल अस्पताल पुर्याइएको थियो तर अत्यधिक रक्तस्रावका कारण दिउँसो १२ बजे चिकित्सकले उनलाई मृत घोषणा गरे।
यसैबीच, काठमाडौंमा जेठो छोराको हत्या भएको खबर दाङको घोराही पुगेलगत्तै उनकी ३८ वर्षीया आमा बिना कालाथोकीले पनि आत्महत्या गरिन्। जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डा. हेमबहादुर केसीका अनुसार छोराको विछोडको पीडा सहन नसकेर आमाले आत्महत्या गरेकी हुन्।
बिनाको शव अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ। मलेसियामा रहेका बाबु रोमहर्ष कालाथोकी सोमबार घर फर्कंदैछन्। उनी आएपछि मात्रै आमा-छोरा दुवैको अन्त्येष्टि गरिने भएको छ।
घटनालगत्तै नयाँ बानेश्वर वृत्त र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अनुसन्धान सुरु गरेको थियो। हत्यामा संलग्न शेखर यादवलाई प्रहरीले शुक्रबार बिहानै काठमाडौंबाट नियन्त्रणमा लियो भने भागेका अर्का आरोपी प्रमित पटेललाई मकवानपुरको भैँसेबाट पक्राउ गरियो।
यस्तै, घटनाको समयमा होस्टेल सञ्चालकले लापरबाही गरेको भन्दै महोत्तरीका २३ वर्षीय आलोक ठाकुरलाई पनि बुद्धनगरबाट पक्राउ गरिएको छ। परिसरका प्रवक्ता एवं एसपी दानबहादुर थापाका अनुसार तीनै जनाविरुद्ध अदालतबाट ५ दिनको म्याद लिएर ज्यान सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ।
यसैबीच, शंखमुल घटनापछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले निजी होस्टेलहरूलाई व्यवस्थित र सुरक्षित बनाउन २१ बुँदे कडा निर्देशन जारी गरेको छ। अबको एक महिनाभित्र सबै होस्टेलले सञ्चालक तथा वार्डेनको विवरण प्रहरीमा बुझाउनुपर्ने, सीसीटीभी अनिवार्य जडान गर्नुपर्ने र होस्टेल हाताभित्र मदिरा तथा चुरोट पूर्ण रूपमा निषेध गर्नुपर्ने नियम बनाइएको छ।
