लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेई) रोगको सङ्क्रमण र मृत्युदर बढेपछि परिवार कल्याण महाशाखाले सबैलाई सतर्क रहन अनुरोध गरेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको पछिल्लो प्रतिवेदनले देशका २५ जिल्लाका ५९ स्थानीय तहमा ८० जनामा यो रोगको सङ्क्रमण पुष्टि भएको देखाएको छ।
महाशाखाले जारी गरेको विज्ञप्तिअनुसार, पुष्टि भएका बिरामीमध्ये ८६ प्रतिशतले जेई खोप नलगाएको पाइएको छ। हालसम्म सङ्क्रमितमध्ये २१ जनाको मृत्यु भएको छ, जसमध्ये मृतक सबैले जेई खोप नलगाएको जनाइएको छ।
सबैभन्दा बढी जेईका बिरामी झापामा १० जना, कैलाली र मोरङमा सात/सात जना, सप्तरी र कञ्चनपुरमा छ/छ जना तथा चितवन, सुनसरी र नवलपरासीपूर्वमा पाँच/पाँच जना रहेका छन्। यो रोग मुख्यतया तराई र भित्री मधेसका जिल्लामा केन्द्रित भए पनि इलाम, काभ्रेपलाञ्चोक, काठमाडौँ, सिन्धुली, सुर्खेतलगायत पहाडी जिल्लामा पनि जेई पुष्टि भएको प्रतिवेदनले उल्लेख गरेको छ।
जापानीज इन्सेफलाइटिस सङ्क्रमित क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्दछ। धानखेत र सुँगुरपालन गरिने क्षेत्रमा बस्ने व्यक्तिहरूमा यसको सङ्क्रमण बढी देखिएको स्वास्थ्य सेवा विभागले जनाएको छ। सङ्क्रमित सुँगुर, बङ्गुर, हाँसलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा भाइरस सर्न सक्छ। जेई सङ्क्रमण भएकामध्ये प्रत्येक तीन जनामा एक जनाको मृत्यु हुने र एक जना दीर्घकालीन अपाङ्गता वा स्नायुसम्बन्धी समस्यासहित बाँच्नुपर्ने तथ्याङ्क छ।
उच्च ज्वरो, टाउको दुख्ने, बेहोस हुने, झट्का आउने वा चेतनामा परिवर्तनजस्ता लक्षण देखिएमा तत्काल नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि जान महाशाखाले अनुरोध गरेको छ। हालसम्म पुष्टि भएका ८० बिरामीमध्ये ६४ प्रतिशत अर्थात ५१ जना १५ वर्षभन्दा माथिका छन्। जेईका कारण भएका मृत्युमा ५० वर्षभन्दा माथिका व्यक्तिको हिस्सा ८१ प्रतिशत रहेको छ। यस वर्ष पुष्टि भएका ८० बिरामीमध्ये पुरुष ४३ र महिला ३७ जना छन्।
लामखुट्टेको टोकाइबाट बच्नु नै जेई रोगबाट सुरक्षित हुने प्रभावकारी उपाय हो। यो रोगबाट बच्न जेई खोप लगाउनुका साथै लामखुट्टेको टोकाइबाट बच्नुपर्ने विभागले जनाएको छ। सरकारले जेई खोप १२ महिनाका बालबालिकालाई लगाउने गर्दछ। छुटेका बालबालिकालाई पाँच वर्षको उमेरसम्म लगाउन सकिन्छ। परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले यो रोगबाट बच्न खोप अनिवार्य रहेको र छुटेकालाई तत्काल खोप लगाउन आग्रह गरेका छन्।
