नवलपरासी–बर्दघाट सुस्ता पश्चिममा भौतिक संरचना र प्राविधिक अभावका कारण करोडौं मूल्यका डायलासिस मेसिन प्रयोगविहीन भएका छन्। विभिन्न दातृ निकाय र नेपाल सरकारबाट स्थानीय तह तथा अस्पतालहरूलाई प्राप्त भएका यी मेसिन सञ्चालनमा ल्याउन नसकिएको हो।
नेपाल सरकारको समन्वयमा रोटरी क्लब धुलिखेलले २०८१ सालमा बर्दघाट नगरपालिका–१४ को सहिद स्मृतिलाई रु एक करोड २० लाख बराबरका छ वटा डायलासिस मेसिन उपलब्ध गराएको थियो। तर, आर्थिक अभाव र मेसिन सञ्चालनका लागि आवश्यक संरचना नहुँदा ती मेसिन प्रयोगमा आउन सकेका छैनन्।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डिबीबहादुर थापाले लामो समयदेखि मेसिन प्रयोगमा ल्याउन नसक्दा स्थानीय बिरामीहरूले सेवा पाउन नसकेको बताए।
त्यस्तै, बुटवलस्थित मुटु अस्पतालले केही महिनाअघि सुनवल नगरपालिकालाई रु साढे आठ करोड बराबरका पाँच वटा डायलासिस मेसिन हस्तान्तरण गरेको थियो। नगरको आफ्नै अस्पताल सञ्चालनमा नआएका कारण ती मेसिन पनि प्रयोगविहीन अवस्थामा छन्।
सुनवल नगरपालिकाकी नगरप्रमुख विमला अर्यालले पनि आर्थिक र प्राविधिक अभावकै कारण मेसिन सञ्चालनमा ल्याउन नसकिएको बताइन्। हाल सुनवलमा १५ श्ययाको अस्पताल निर्माण भइरहेको छ।
यसैबीच, रामग्रामस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा रहेका पाँच वटा डायलासिस मेसिनले दैनिक १७ जना बिरामीलाई नियमित सेवा दिइरहेका छन्। बिरामीको चाप बढी भएकाले जिल्ला अस्पतालबाट सेवा लिन नसक्ने बिरामीहरू अन्यत्र जानुपर्ने बाध्यता छ।
पृथ्वीचन्द्र अस्पतालका व्यवस्थापक सिमा काफ्लेले प्रयोगविहीन मेसिनहरू सञ्चालनमा आएमा बिरामीहरूलाई ठूलो राहत हुने बताइन्।
