नागढुंगा सुरुङ निर्माण परियोजनाका लागि जापानले नेपाललाई थप ५.७ अर्ब जापानी येन (करिब ५.५ अर्ब रुपैयाँ) ऋण उपलब्ध गराउने भएको छ। अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपालका लागि जापानी राजदूत मैदा तोरुले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
यसअघि सन् २०१६ को डिसेम्बरमा जापानले १६.६३६ अर्ब येन ऋण सहायता उपलब्ध गराएको थियो। बढ्दो मूल्यवृद्धि, निर्माण सामग्री तथा सेवाको लागत र प्राविधिक कारणले आयोजनाको बजेट बढेपछि थप रकम आवश्यक परेको थियो।
बुधबारको सम्झौतासँगै नागढुंगा सुरुङ निर्माण परियोजनाका लागि जापानले उपलब्ध गराउने कुल ऋण रकम २२.३३६ अर्ब येन पुगेको छ।
सन् २०१९ मा सुरु भएको सुरुङमार्ग आगामी साउनदेखि सञ्चालनमा ल्याउने तयारी छ। यस परियोजनाले युवा नेपाली इन्जिनियरहरूलाई उन्नत जापानी सीप हस्तान्तरण गर्ने अवसर प्रदान गर्नेछ। यसले भविष्यमा नेपाली जनतालाई फाइदा पुग्ने काठमाण्डुस्थित जापानी दूतावासले जनाएको छ।
