NM Khabar 16 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

देशभर आगलागी: २४ घण्टामा १५ लाख ५० हजारको क्षति

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानमा आगलागीका घटना भएका छन्। दाङ, ललितपुर, कास्की, सुनसरी, मोरङ, कैलाली र कञ्चनपुरमा क्षति पुगेको छ। विद्युत् चुहावट र सर्टका कारण १५ लाख ५० हजार रुपैयाँभन्दा बढीको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।
Sanjay Karki
Sanjay Karki
16 May 2026, 9:35 pm १ मिनेट पढाइ
आकार:
देशभर आगलागी, धनमाल नष्ट
Share:

नेपाल प्रहरी केन्द्रीय समाचार कक्षका अनुसार पछिल्लो २४ घण्टामा देशभर आगलागीबाट १५ लाख ५० हजार रुपैयाँभन्दा बढीको धनमाल नष्ट भएको छ।

दाङको गढवा गाउँपालिका–६ खबरीमा भुवनसिंह पुनको घर र गोठमा गएराति विद्युत् चुहावटले आगलागी गरायो। यसबाट चार लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।

ललितपुर महानगरपालिका–१४ ताल्चीखेलस्थित न्यू खुकुरी रेष्टुरेन्टमा आज बिहान विद्युत् सर्ट भयो। पाँचथर घर भएका ४१ वर्षीय सुजन सुहङले सञ्चालन गरेको उक्त रेष्टुरेन्टमा आगलागी हुँदा चार लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जल्यो।

कास्कीको पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित एसएस सुज सेन्टरमा पनि आगलागी भयो। पोखरा महानगरपालिका–३३ बागमारा बस्ने मुक्ति पनेरूले सञ्चालन गरेको पसलमा गएराति आगलागी हुँदा दुई लाख रुपैयाँ बराबरको सामान नष्ट भएको प्रहरीले जनायो।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ महाकाली टोलमा बन्दा रानाको घरमा आज बिहान आगलागी भयो। क्षतिको विवरण भने प्राप्त भइसकेको छैन।

सुनसरीको बर्जु गाउँपालिका–६ रामटोलमा मन्जुदेवी रामको घरमा शुक्रबार विद्युत् सर्टले आगलागी गरायो। यसबाट दुई लाख रुपैयाँ बराबरको क्षति भयो।

मोरङको कानेपोखरी गाउँपालिका–१ बनकरुवामा कालीप्रसाद ठाकुरको किराना पसलमा विद्युत् चुहावटले आगलागी गरायो। यसबाट तीन लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट भयो।

कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित जय श्री लटिनाथ ट्रेडर्समा गएराति विद्युत् चुहावटले आगलागी गरायो। सोही उपमहानगरपालिका–२ बस्ने ४२ वर्षीय अवनिश सिंहले यो ट्रेडर्स सञ्चालन गर्छन्। क्षतिको विवरण हालसम्म प्राप्त नभएको प्रहरीले जनायो।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार