आर्थिक वर्ष २०८१/८२ मा स्वदेशमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या १०.९ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा छ लाख ७२ हजार ४८९ विद्यार्थीले उच्च शिक्षा अध्ययन गरेकोमा यो संख्या बढेर सात लाख ४५ हजार ७७० पुगेको छ।
आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार, उच्च शिक्षा अध्ययनरत कूल विद्यार्थीमध्ये ५०.५ प्रतिशत व्यवस्थापन संकायमा आबद्ध छन्। शिक्षाशास्त्र र मानविकी तथा समाजशास्त्र संकायमा अध्ययन गर्ने विद्यार्थीको संख्या करिब ८० प्रतिशत छ।
सबैभन्दा कम विद्यार्थी कृषि संकायमा अध्ययनरत छन्। यो संख्या कुल विद्यार्थीको शून्य दशमलव १५ प्रतिशत मात्र छ।
नेपालका केन्द्रीय तथा प्रादेशिक विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान र विदेशी सम्बन्धनमा सञ्चालित क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीको तथ्यांकअनुसार, त्रिभुवन विश्वविद्यालयअन्तर्गत आङ्गिक क्याम्पसमा ४७.९ प्रतिशत र सम्बन्धन प्राप्त क्याम्पसमा २७.४ प्रतिशत विद्यार्थी अध्ययन गर्छन्। यसरी त्रिभुवन विश्वविद्यालयमा मात्र कुल ७५.३ प्रतिशत विद्यार्थीको आकर्षण छ।
अन्य विश्वविद्यालय र कार्यक्रमहरूमा २४.१ प्रतिशत विद्यार्थी अध्ययनरत छन्। सरकारी लगानीका विश्वविद्यालयहरूमा त्रिभुवन विश्वविद्यालयले ६७.५ प्रतिशत हिस्सा ओगटेको छ। बाँकी ३२.५ प्रतिशत अन्य विश्वविद्यालय र कार्यक्रममा लगानी छ।
हाल मुलुकमा १५ केन्द्रीय र छ प्रादेशिक गरी कूल २१ विश्वविद्यालय सञ्चालनमा छन्। संघअन्तर्गत छ र प्रदेशअन्तर्गत दुई गरी आठ स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि कार्यरत छन्। यो तथ्यांक २०८२ फागुनसम्मको हो।
