नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएर पञ्चायती निरंकुशताको झल्को दिएको आरोप लगाएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रचण्डले गरिब र सुकुम्बासीमाथि राज्यले गरेको रवैयाको आलोचना गरे। उनले व्यवस्था परिवर्तनमा भूमिका खेलेका यी वर्गमाथि भएको व्यवहारले पञ्चायती निरंकुशताको झल्को दिएको आरोप लगाए।
प्रचण्डले भने, “हिजो निरंकुश राज्यसत्ताले हात्ती लगाएर गरिब, सुकुम्बासीका छाप्रो भत्काउने गर्दथ्यो। आज लोकतन्त्रमा जनताको घर बस्ती भत्काइएका छन्।” उनले वर्षामा रुझ्दै बिचल्लीमा परेका बालबालिकाका भिडिओहरू सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भएको उल्लेख गरे।
प्रचण्डले गरिब र सुकुम्बासीमाथि प्रहार गर्दा देशको मुहार नफेरिने जिकिर गरे। उनले गरिबलाई समृद्धिका बाहक र सुकुम्बासीलाई विकासका अवरोधक नभएको बताए।
“बिना कुनै योजना, पूर्वजानकारी र तयारी जबर्जस्ती बस्ती खाली गरेर देशको मुहार फेरिन्न,” प्रचण्डले भने, “नेपाली जनताले लामो लडाइँ लडेर संविधानमा आवासको अधिकार र गरिबको अधिकार लेख्न सफल भएका हुन्।”
जेनजी आन्दोलनपछिको नयाँ परिवेशमा सम्पन्न निर्वाचनबाट आफू पूर्वप्रधानमन्त्रीहरूमध्ये एक्लै निर्वाचित भएको प्रचण्डले बताए। यसले असहजता, गर्व र चुनौतीपूर्ण जिम्मेवारी महसुस गराएको उनको भनाइ थियो। उनले सबै नवनिर्वाचित माननीय सदस्यहरूलाई बधाई दिए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनमा पाएको सफलताका लागि सभापति रवि लामिछानेलाई विशेष बधाई दिए। प्रचण्डले काठमाडौंका मेयर बालेन्द्र शाहलाई समेत बधाई दिँदै उनलाई देशकै प्रधानमन्त्री बनेको भनी सम्बोधन गरे।
यो इन्द्रेणी संसदका लागि हजारौँ सहिदको बलिदान रहेको उनले स्मरण गराए। यस भवनको जगमा तिनै शहादत रहेको र हरेक भित्ता बलिदानले रंगिएको प्रचण्डले उल्लेख गरे।
प्रचण्डले समावेशी प्रतिनिधित्वको कथा रगतले लेखिएको बताए। उनले २०४८ सालको संसदमा एक जना दलित प्रतिनिधि र ६ जना महिला थिए। अहिले १७ जना दलित र ९६ जना महिला सदस्य रहेको तथ्यांक प्रस्तुत गरे। आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु लगायतका उत्पीडित वर्गको प्रतिनिधित्व पनि उल्लेखनीय बढेको उनको भनाइ थियो।
सामन्तवादविरुद्धको संघर्षले नै उत्पीडित समुदायका प्रतिनिधिहरूलाई संसदमा प्रवेश गराएको प्रचण्डले जिकिर गरे। पार्टी जुनसुकै भए पनि समावेशी र समानुपातिक प्रतिनिधिहरूप्रति गर्व गर्ने हक आफूलाई रहेको उनले बताए।
शान्तिप्रक्रियालगत्तै काठमाडौंका भित्ताहरूमा मधेशी हुनुको गर्व स्थापित गर्न अभियान चलाएको प्रचण्डले स्मरण गरे। उनले बालेन्द्र शाह काठमाडौंको मेयर हुँदै आज देशकै प्रधानमन्त्री बन्नुभएको भनी आफ्नो क्रान्तिको संकल्पको जीत भएको बताए।
प्रचण्डले क्रान्तिका उपलब्धिमा गर्व गरिरहेको समाजमा केही पात्र क्रान्तिको अपराधीकरण गर्न तल्लीन रहेको आरोप लगाए। शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुग्न नदिन अग्रसर रहेको भन्दै उनले चिन्ता व्यक्त गरे।
प्रचण्डले “पुराना नेता” र “पुराना पार्टी”का नाममा बनेको “सबै उस्तै हुन्” भन्ने गलत भाष्यलाई खारेज गरे। उनले सवाल पुराना र नयाँको नभई, सही र गलतको भएको तर्क प्रस्तुत गरे।
प्रचण्डले आफू प्रधानमन्त्री र प्रमुख विपक्षी दलको नेता हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग दह्रो सहकार्य गरेको बताए। उनले सुशासनका माध्यमबाट लोकतन्त्रको सेवा सुरु गरिएको, सेवा प्रवाहको सरलीकरण र मेरिटोक्रेसीमा जोड दिइएको उल्लेख गरे। ललिता निवास र भुटानी शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धानबाट विधिको शासन स्थापित गरेको उनको दाबी थियो। उनले देशका सबैभन्दा ठूला माफियासँग निडरताका साथ लडेको पनि बताए।
उनले सरकारको एक महिनाका निर्णय र कार्यशैलीबारे आलोचना गर्दै गरिब र निमुखा जनतामाथि प्रहार भएकोमा आपत्ति जनाए।
“जबर्जस्ती उठिवास होइन, व्यवस्थित र वैज्ञानिक बाटोबाट भूमिमाथिको स्वामित्व, जीविकोपार्जन तथा बसोबासको ग्यारेन्टी गरेर मात्रै सुकुम्बासी समस्याको हल सम्भव छ,” उनले भने। उनले सरकारलाई यस विषयमा गम्भीरतापूर्वक पुनर्विचार गर्न आग्रह गरे।
प्रचण्डले सरकारले सार्वजनिक गरेको रोडम्यापको स्वागत गरे पनि नीति तथा कार्यक्रम हतारमा प्रस्तुत भइरहेकोमा असन्तुष्टि व्यक्त गरे। यसबाट छलफल कर्मकाण्ड मात्रै बन्ने गरेको उनको भनाइ थियो।
