यही जेठ १५ गते मनाइने गणतन्त्र दिवसको विशेष समारोहलाई यसपटक राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रपति पौडेललाई सम्बोधन गर्न आग्रह गर्दै पत्र पठाएको छ।
यसअघि परम्परागत रूपमा गणतन्त्र दिवसको समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्दै आएका थिए। यस वर्ष प्रधानमन्त्री बालेन्द्र शाहले आफैं सम्बोधन नगरी राष्ट्रपतिलाई सम्बोधन गर्न सिफारिस गरेका हुन्।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, संविधानको धारा ६६ को उपधारा २ बमोजिम राष्ट्रपति पौडेललाई सम्बोधन गर्न सिफारिस गरिएको थियो। मन्त्रिपरिषद्ले प्रधानमन्त्री शाहकै नेतृत्वमा गणतन्त्र दिवस मूल समारोह समिति गठन गरेको थियो।
प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने वा नगर्ने विषयमा अझै अनिश्चितता छ। प्रधानमन्त्री कार्यालय स्रोतले राष्ट्रपतिलाई सम्बोधन गर्न पत्राचार गरिसकिएको पुष्टि गरेको छ। मुख्यसचिव सुमनराज अर्यालले राष्ट्रपति कार्यालय शीतलनिवासमा पत्र पुर्याइसकेको जानकारी दिए।
सरकारले हरेक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसका रूपमा मनाउँछ। यस अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुन्छ। समारोहमा राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने परम्परा छ।
संसद्मा विपक्षी दलहरूले सदन अवरोध गरिरहेको सन्दर्भमा प्रधानमन्त्री शाहले सार्वजनिक समारोहमा नबोल्ने नीति लिएको हुन सक्ने अनुमान छ।
