NM Khabar 13 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कार्यक्रमस्थलबाट किन लखेटिए शिक्षामन्त्री पोखरेल? यस्तो छ उनको स्पष्टीकरण

मधेस प्रदेशमा राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सुझाव संकलन गर्न पुगेका शिक्षामन्त्री सस्मित पोखरेल कार्यक्रमस्थलबाट बाहिरिएका छन्। दुई व्यक्तिले हल्ला गरेपछि सहभागी प्रभावित हुने अवस्था आएको भन्दै मन्त्रीले घटनाको भिडियो क्लिप काटेर भ्रम फैलाउने प्रयास भएको दाबी गरेका छन्।
Kamala Devi
Kamala Devi
12 September 2026, 7:04 pm १ मिनेट पढाइ
आकार:
शिक्षामन्त्री पोखरेल स्पष्टीकरण
Share:

मधेस प्रदेशमा राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सुझाव संकलन गर्न पुगेका शिक्षामन्त्री सस्मित पोखरेल कार्यक्रमस्थलबाट बाहिरिएका छन्। दुई व्यक्तिले हल्ला गरेपछि सहभागी प्रभावित हुने अवस्था आएको भन्दै मन्त्रीले घटनाको भिडियो क्लिप काटेर भ्रम फैलाउने प्रयास भएको दाबी गरेका छन्।

पोखरेलका अनुसार सिरहा र सप्तरीमा आयोजित अन्तरक्रियामा १०० भन्दा बढी सरोकारवाला सहभागी थिए। आगामी शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याउने तयारी गरिएको ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ जस्ता अवधारणाबारे प्रत्यक्ष संवाद भइरहेको थियो।

तर, कार्यक्रममा दुई व्यक्तिले आएर हल्ला गरेपछि बाँकी सहभागीको सहभागिता प्रभावित हुने अवस्था बनेको थियो। त्यसपछि आफूहरू कार्यक्रमस्थलबाट बाहिरिएको पोखरेलले बताए।

उनले घटनाको एक मिनेटभन्दा छोटो भिडियो क्लिप काटेर सामाजिक सञ्जालमा सन्दर्भ बङ्ग्याउने प्रयास भएको दाबी गरे। ‘लोकतान्त्रिक पद्धतिमा असहमति जनाउने अधिकार सबैलाई हुन्छ,’ पोखरेलले लेखे, ‘तर, पूरा सन्दर्भ नबुझी छोटो भिडियोका आधारमा धारणा बनाउनु वा नियोजित भ्रमको पछि लाग्नु उचित हुँदैन।’

पोखरेलले उक्त घटनापछि पनि आफ्नो टोलीले शिक्षा सुधारका लागि स्थलगत संवादलाई निरन्तरता दिएको बताए। सिरहास्थित बहिरा बालबालिका पढ्ने विद्यालय तथा मदरसा शिक्षालयमा पुगेर विद्यार्थीहरूसँग संवाद गरिएको थियो। एकै दिन करिब ८ देखि १० वटा विद्यालयमा पुगेर सुझाव संकलन गरिएको थियो।

मन्त्री पोखरेलले मधेस प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको बढ्दो प्रभाव र शिक्षा क्षेत्रमा भइरहेका कामप्रति असन्तुष्टि राख्नेहरूबाट भ्रम फैलाउने प्रयास भएको संकेत गरे। ‘हामी यहाँ राजनीतिक स्टन्ट वा हल्ला गर्न होइन, ग्राउन्डमै पुगेर शिक्षा क्षेत्रमा वास्तविक र सकारात्मक परिवर्तन ल्याउन आएका हौँ,’ उनले भने, ‘हल्लाभन्दा काम ठूलो हो, र हाम्रो काम र नियतको मूल्याङ्कन जनता स्वयंले गर्नेछन्।’

मन्त्री पोखरेलले भोलि सप्तरी हुँदै मोरङतर्फ जाने बताएका छन्।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार