माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा थप सात जनाको शव फेला परेको छ। सुरुङ तथा हेडवक्समा हराइरहेकाहरूको खोजी गर्ने क्रममा शुक्रबार सात शव भेटिएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले पुष्टि गर्यो।
२१६ मेगावाट क्षमताको आयोजनामा भदौ १० को बाढीपछि ठूलो संख्यामा मानिस हराइरहेका थिए। शुक्रबार नेपाली सेना र आयोजना प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका सर्भे इन्जिनियरसहितको टोलीले अडिट १ को क्षेत्र अवलोकन गर्दा उक्त क्षेत्र डेब्रिजले भरिएको फेला पारेको उद्धारकर्ताहरूले बताए।
यसअघि भदौ १९ गते ६ जनाको शव फेला परेको थियो। मैलुङ क्याम्प साइटमा मिनि स्काइभेटरले उत्खनन सुरु गरिएको छ। अडिट ३ मा नेपाली सेना र अष्ट्रेलियाली उद्धार समूहले खोजी गरिरहेका छन्।
उद्धार कार्यमा कोरियाली टोली, शेर्पाहरू, सर्च र ड्रोन टोली सक्रिय छन्। खोजीका लागि क्यामेरा र तालिमप्राप्त कुकुर प्रयोग भइरहेको छ। कम्पनीले आजदेखि खोजी कार्य तीव्र पार्ने जनाएको छ।
बाढी आउनुअघि आयोजनास्थलमा १,४३३ जना कार्यरत थिए। हालसम्म ८७८ जनाको मात्र उद्धार भएको छ। इप्पानका अनुसार अझै ५५१ जना सम्पर्कविहीन छन्।
