नेपाली कांग्रेसका सभापति गगन थापाले भाद्र २४ गतेको घटना ढाकछोप गर्ने सरकारी प्रयास कुनै हालतमा स्वीकार्य नहुने चेतावनी दिएका छन्। शनिबार विराटनगरमा पत्रकार भेटघाट गर्दै उनले सरकारले आफैं गरेको प्रतिबद्धता अनुसार उक्त घटनाको सत्यतथ्य छानबिन गर्न न्यायिक आयोग गठन गर्नुपर्ने माग गरे।
थापाले भाद्र २३ र २४ गतेका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गरी दोषीमाथि कारबाही गर्नुपर्ने बताए। उनले प्रतिवेदन रोक्न दबाब आएको सुनेको उल्लेख गर्दै त्यस्ता कार्य नगर्न आग्रह गरे।
उनले सरकार गठन भएयता कार्यपालिकाले व्यवस्थापिका र न्यायपालिकालाई नियन्त्रण गर्ने प्रयास गरिरहेको आरोप लगाए। सरकारको गलत क्रियाकलाप रोक्न कांग्रेसले प्रयास जारी राख्ने उनको भनाइ थियो।
पार्टीभित्रको असहमति र विमतीलाई मिलाएर समाधान खोज्न आफू तयार रहेको बताउँदै थापाले पार्टी विधानभन्दा बाहिर गएर काम नगर्न आग्रह गरे। उनले केन्द्रीय समिति बाहिर रहेका सबैलाई समेटेर अगाडि बढ्ने बताए।
