राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले हिन्दू मन्दिरमा आगो लगाउने धम्की दिने व्यक्तिमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गरेका छन्।
शाहीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै कुनै समूहले पत्रकार सम्मेलन गरेर हिन्दू मन्दिरमा आगो लगाउने सार्वजनिक धम्की दिएको उल्लेख गरेका छन्। उनले सरकारको मौनताप्रति प्रश्न उठाएका छन्।
शाहीका अनुसार, धार्मिक स्थलमा आगो लगाउने वा तोडफोड गर्ने धम्की नेपालको संविधान २०७२ को धारा २६ र मुलुकी अपराध संहिता, २०७४ विपरीत हो। यो कार्य धार्मिक भावना र आस्थामाथिको आक्रमण भएको उनको भनाइ छ।
गृहमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका प्रधानमन्त्रीलाई सम्बोधन गर्दै शाहीले कानुन विपरीतका गतिविधिमा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न अपिल गरेका छन्।
शाहीले “हाम्रो आस्था, संस्कृति र भविष्य माथि कसैले धावा बोल्ने अधिकार छैन” भनेका छन्। नेपाल धार्मिक सहिष्णुता, सद्भाव र पारस्परिक सम्मानको देश भएकाले यस्ता प्रयास स्वीकार्य नहुने उनको भनाइ छ।
