कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका ६८ शान्ति सैनिक, प्रहरी र नागरिकलाई मरणोपरान्त ड्याग ह्यामर्शोल्ड पदक प्रदान गरिने भएको छ। यो सम्मानबाट नेपालका सुरज लामिछाने र देवीराम जैसीलाई मरणोपरान्त सम्मान गरिनेछ।
न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा जेठ २२ गते महासचिव एन्टोनियो गुटरेसले शान्ति सेनाको सम्मानमा पुष्पचक्र अर्पण गर्ने कार्यक्रम छ। यो कार्यक्रम सन् १९४८ मा पश्चिम एसियामा राष्ट्रसंघीय शान्ति स्थापना सञ्चालन भएको दिनको स्मरणमा आयोजना गरिने शान्ति सैनिक दिवसको अवसरमा हुनेछ।
नेपाल संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा सबैभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने मुलुक हो। हालसम्म नेपालबाट ३६४ महिलासहित ४ हजार ३०० भन्दा बढी सैनिक र प्रहरी शान्ति मिसनमा परिचालन भएका छन्।
