कोशी प्रदेशसभामा जेठ १२ गतेदेखि जारी अवरोध दलहरूबीचको सहमतिपछि अन्त्य भएको छ। प्रदेशसभा बैठक बस्नुअघि बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा सभामुख र दलका नेताहरूबीच गतिरोध अन्त्य गर्ने सहमति भएको हो।
सभामुखले प्रदेश सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको भनी गरेको घोषणा सच्याउने र उक्त सहमति प्रदेशसभा बैठकमा वाचन गर्ने समझदारीपछि गतिरोध हटेको हो। सोही सहमतिअनुसार सभामुख अम्बरबहादुर विष्टले बैठकमा पढेर सुनाएका थिए।
विपक्षी दल नेपाली कांग्रेसले आफूहरूको असहमति हुँदाहुँदै नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको घोषणा गरिएको र यसमा संशोधनको समय नदिई हठात् पारित गरिएको भन्दै बैठक अवरुद्ध गर्दै आएको थियो।
यस गतिरोधका कारण प्रदेश सरकारले बजेट ल्याउनु १५ दिनअघि सदनमा पेस गर्नुपर्ने बजेटका सिद्धान्त र प्राथमिकता पेस गर्न सकेको थिएन। यो गतिरोध अन्त्य भएसँगै प्रदेशसभामा बजेटका सिद्धान्त र प्राथमिकता पेस भएको छ र यसमा छलफल चलिरहेको छ।
