विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा संलग्न छन्। यसबाट कम्तीमा चार करोड बालबालिका जोखिममा परेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ। आइतबार मनाइएको विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवसका अवसरमा डब्लुएचओले यसको प्रयोगले हुने गम्भीर स्वास्थ्य जोखिमबारे चेतना फैलाएको छ।
हरेक वर्ष मे ३१ मा मनाइने यो दिवसको उद्देश्य सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिमबारे जानकारी दिनु हो। यसले सुर्ती उद्योगका व्यावसायिक रणनीति, नियन्त्रणका लागि डब्लुएचओका प्रयासबारे पनि चेतना जगाउँछ। स्वस्थ जीवनयापन र भावी पुस्ताको संरक्षणका लागि आवश्यक कदमबारे जानकारी दिन यो दिवस सुरु भएको हो। सन् १९८७ मा डब्लुएचओ सदस्य राष्ट्रहरूले सुर्तीजन्य पदार्थको महामारीबारे ध्यानाकर्षण गराउन यो दिवसको सुरुआत गरेका थिए।
डब्लुएचओका अनुसार विश्वभर ८८१ अर्ब ३० करोड मानिसले सुर्तीजन्य पदार्थ प्रयोग गर्छन्। अधिकांश निम्न तथा मध्यम आय भएका देशमा बस्छन्। पछिल्ला वर्षहरूमा प्रयोग घट्दै गए पनि विश्वका पाँचमध्ये एक वयस्क यसमा संलग्न छ। सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष ८० लाखभन्दा बढी मानिसको मृत्यु हुन्छ। यसमध्ये करिब १२ लाखको मृत्यु निष्क्रिय धूमपानका कारण हुने गरेको छ।
यस वर्षको दिवसमा डब्लुएचओले सरकारहरूलाई नयाँ पुस्तालाई सुर्तीजन्य तथा निकोटिनयुक्त उत्पादनको लतबाट जोगाउन आग्रह गरेको छ। संगठनका अनुसार १३ देखि १५ वर्ष उमेर समूहका कम्तीमा चार करोड बालबालिकाले सुर्तीजन्य पदार्थ प्रयोग गर्छन्। विद्युतीय चुरोट (ई–सिगरेट) र निकोटिन पाउचको प्रयोग युवा पुस्तामाझ बढिरहेको छ।
सुर्ती तथा निकोटिन उत्पादन गर्ने कम्पनीहरूले आफ्ना उत्पादनलाई आकर्षक बनाइरहेका छन्। प्रयोग गर्न सहज र छोड्न कठिन हुने गरी विकास गरिएका उत्पादनले किशोर र युवालाई अम्मली बनाइरहेका छन्। विशेषगरी स्वादयुक्त ई–सिगरेट र निकोटिन पाउच यसका उदाहरण हुन्।
डब्लुएचओका स्वास्थ्य निर्धारक, प्रवर्द्धन तथा रोकथाम विभागका निर्देशक डा. एटिएन क्रुगले ठूला कम्पनीहरूले व्यापारिक रणनीति परिवर्तन गरेको बताए। उनीहरूले नयाँ पुस्तालाई निकोटिनको लतमा फसाउने प्रयास गरिरहेका छन्। स्वादयुक्त ई–सिगरेट, निकोटिन पाउच र अन्य निकोटिनजन्य उत्पादनको बजार विस्तारले युवापुस्तालाई लक्षित गरेको छ।
निकोटिन अत्यधिक लत लाग्ने र स्वास्थ्यका लागि हानिकारक छ। मस्तिष्क विकासको चरणमा रहेका बालबालिका, किशोर र युवाका लागि यसको असर गम्भीर हुनसक्छ। हाल विश्वभर १० करोडभन्दा बढी मानिसले ई–सिगरेट प्रयोग गर्ने अनुमान छ। किशोर उमेर समूहमा यसको लोकप्रियता तीव्र छ।
डब्लुएचओको निकोटिन पाउचसम्बन्धी प्रतिवेदनले सामाजिक सञ्जालका प्रभावशाली व्यक्तिमार्फत यसको प्रचारप्रसार भइरहेको देखाउँछ। आकर्षक प्याकेजिङ, मिठाईजस्ता स्वाद र जीवनशैली सँग जोडिएका विज्ञापनले युवालाई आकर्षित गर्छन्।
विश्वका करिब १६० देशमा निकोटिन पाउचसम्बन्धी स्पष्ट कानुनी नियमन छैन। यसको बिक्री तीव्र गतिमा बढिरहे पनि पर्याप्त नियमन नहुँदा लाखौँ मानिस जोखिममा छन्।
डब्लुएचओले सरकारहरूलाई स्वादयुक्त निकोटिनजन्य उत्पादनमा प्रतिबन्ध लगाउन आग्रह गरेको छ। विज्ञापन, प्रवर्द्धन तथा प्रायोजन रोक्नुपर्छ। सार्वजनिक भित्री स्थानलाई धूमपान तथा भेप–मुक्त क्षेत्र घोषणा गर्नुपर्छ। कानुनी कार्यान्वयन थप प्रभावकारी बनाउनुपर्छ। सुर्ती तथा निकोटिनजन्य पदार्थको प्रयोग नियन्त्रण गर्न नसके भावी पुस्ताको स्वास्थ्यमा गम्भीर असर पर्नेछ।
