प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा ‘नेपालले पनि भारतीय भूमि मिचेको’ भन्ने अभिव्यक्ति दिएपछि तीन पूर्वपरराष्ट्रमन्त्रीहरूले कडा आपत्ति जनाएका छन्। उनीहरूले प्रधानमन्त्रीको भनाइलाई गैरजिम्मेवार, राष्ट्रविरोधी र हलुका भन्दै तत्काल माफी माग्न र संसद्को रेकर्डबाट हटाउन माग गरेका हुन्।
पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको भनाइ पूर्णतया गलत र राष्ट्रविरोधी भएको टिप्पणी गरेका छन्। उनले भने, ‘प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपालले पनि भारतको भूमि मिचेको छ भनी दिएको अभिव्यक्ति शतप्रतिशत गलत, राष्ट्रघाती, गैरजिम्मेवार र घातक छ।’ यसले नेपाली जनतालाई लज्जित बनाएको उनको भनाइ छ।
श्रेष्ठले सन् २००७ र २०१४ का सीमासम्बन्धी प्राविधिक प्रयास तथा २०१९ को परराष्ट्रमन्त्री स्तरको संयुक्त आयोगका ऐतिहासिक तथ्यहरू स्मरण गराउँदै प्रधानमन्त्रीले यस्तो संवेदनशील विषयलाई यसरी प्रस्तुत गर्नुको जति विरोध गरे पनि कम हुने बताए। उनले प्रधानमन्त्रीले तत्काल नेपाली जनता र संसद्सामु माफी माग्नुपर्ने, यसलाई सच्याउनुपर्ने र संसद्को अभिलेखबाट हटाउनुपर्ने माग गरेका छन्।
त्यस्तै, पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि प्रधानमन्त्रीको सो भनाइको कडा आलोचना गरेका छन्। सामाजिक सञ्जालमा टिप्पणी गर्दै ज्ञवालीले भनेका छन्, ‘नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको छ’ संसद्को रोस्ट्रममा उभिएर प्रधानमन्त्रीले बोलेको यो विषय आपत्तिजनक, सन्देहास्पद र भर्त्सनायोग्य छ। यो अभिव्यक्ति तत्काल फिर्ता लिइयोस् र सार्वजनिक रूपमा क्षमा मागियोस्।
पूर्वपरराष्ट्रमन्त्री कमल थापाले पनि प्रधानमन्त्री शाहको अभिव्यक्तिले सिंगो मुलुकलाई तरंगित र आश्चर्यचकित बनाएको टिप्पणी गरेका छन्। उनले केही स्थानमा सीमा विवाद हुनु बेग्लै कुरा भए पनि नेपालले भारतको सीमा मिचेको वा अतिक्रमण गरेको छैन भन्ने मान्यतामा अडिग रहेको बताए। यदि प्रधानमन्त्री यस्तो कुरामा विश्वस्त हुनुहुन्छ भने प्रमाणसहित स्पष्ट पार्नुपर्ने र गल्ती सच्याउनुपर्ने उनको भनाइ छ। थापाले प्रधानमन्त्रीको भनाइ अतिरञ्जित र गलत भएको र यसलाई तत्काल सच्याउन आग्रह गरेका छन्।
आइतबार संसद्मा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले ‘मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ। भारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’ भनेका थिए।
प्रधानमन्त्रीको यो अभिव्यक्तिको चौतर्फी विरोध भएपछि परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीले उल्लेख गरेको विषय दशगजा क्षेत्र अतिक्रमण र ‘क्रस बोर्डर अकुपेसन’ अर्थात् सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको स्पष्ट पारेको छ। परराष्ट्रले सीमासम्बन्धी विवादहरूलाई कूटनीतिक माध्यम र आपसी छलफलबाट समाधान गर्न दुवै देश प्रतिबद्ध रहेको पनि जनाएको छ।
