गृहमन्त्री सुधन गुरुङ सुरक्षा निकायलाई पूर्वजानकारी नदिई कोशी प्रदेशको सीमा क्षेत्रको आकस्मिक अनुगमनमा निस्किएका छन्। सीमा क्षेत्रबाट हुने चोरी तस्करी र राजस्व चुहावटबारे जनगुनासो बढेपछि वस्तुस्थिति बुझ्न उनी शुक्रबार साँझ कोशी आइपुगेका हुन्।
सुरक्षा स्रोतका अनुसार मन्त्री गुरुङ हाल कोशी प्रदेशको सुनसरी र मोरङमा छन्। तर, उनको सु دقیق अवस्थाबारे सुरक्षा निकायलाई कुनै जानकारी छैन। उनले सीमा नाकाहरूको ‘छड्के’ अनुगमन गर्ने तयारी छ।
केही दिनअघि मात्रै मधेस प्रदेशको पर्सा पुगेर स्थानीयसँग तस्करीबारे जानकारी लिएको उनको भिडियो सार्वजनिक भएको थियो। यसपटक उनी मोरङको विराटनगरस्थित दक्षिणी सीमा क्षेत्र र आसपासका अन्य नाकाहरूको समेत निरीक्षण गर्ने तयारीमा छन्।
सुरक्षा स्रोतले भने, ‘गृहमन्त्रीज्यू अहिले सुनसरी आइपुग्नुभएको छ। त्यहाँको वस्तुस्थिति बुझेर मोरङ प्रवेश गर्ने तयारी छ।’ मन्त्रीको यो आकस्मिक आगमनले मोरङका सुरक्षा निकायहरू अहिले ‘हाइ अलर्ट’मा छन्।
मन्त्रीको अप्रत्याशित भ्रमणले सीमा क्षेत्रका सुरक्षाकर्मी र प्रशासनिक अधिकारीहरूमाझ दौडादौड चलेको छ। मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले गृहमन्त्री आएको थाहा भए पनि हाल कहाँ छन् भन्ने जानकारी नभएको बताए।
