इजरायलले हाल छनोट प्रक्रियामा रहेका नेपाली श्रमिक पठाउने कार्य सम्पन्न गरेपछि मात्र नयाँ भर्ना प्रक्रिया सुरु गर्ने भएको छ। यो निर्णयले हजारौं नेपाली युवाको रोजगारीको ढोका खोल्ने अपेक्षा छ।
बुधबार युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत एरी बासबीच मन्त्रालयमा द्विपक्षीय भेटवार्ता भयो। भेटमा नेपाली श्रमिकले भोगिरहेका समस्या, स्वास्थ्य परीक्षण र भाषा परीक्षाबारे विस्तृत छलफल भयो। श्रम मन्त्रालयका एक उच्च अधिकारीका अनुसार हालको भर्ना प्रक्रिया र आगामी योजनाबारे गृहकार्य भइरहेको छ।
“२३०० जनाको प्रारम्भिक सूचीबाट १२०० जनाको स्क्रिनिङ प्रक्रिया अघि बढेको छ। यो चरण सकिएपछि बाँकी रहेका र नयाँ आवेदनका लागि सूचना निकालिनेछ,” ती अधिकारीले भने। “केयरगिभरका रूपमा जान चाहने र अघिल्लो लटरीमा नपरेकाहरूका लागि अर्को परीक्षाबारे छलफल भइरहेको छ।”
राजदूत बासले अंग्रेजी भाषा परीक्षा पास गरी छनोटमा परेका श्रमिकको प्रस्थान प्रक्रियालाई प्राथमिकता दिइएको बताए। छनोटमा परेका श्रमिक इजरायल उडेपछि मात्र नयाँ आवेदन र छनोटको ढोका खुल्ने उनले स्पष्ट पारे।
यसैबीच, मन्त्रालयले होम (बेस केयर र एग्रीकल्चर वर्कर) का लागि नयाँ प्रोटोकल तयारी गरेको छ। यी दुई क्षेत्रका प्रोटोकलमाथि प्राप्त सुझाव समेटेर छिट्टै अन्तिम रूप दिइनेछ।
“होम बेस र कृषि क्षेत्रका लागि आवश्यक प्रोटोकलको काम अन्तिम चरणमा छ। यसलाई छिट्टै टुङ्ग्याउने पक्षमा छौँ,” ती अधिकारीले भने। भेटवार्तामा मन्त्री र राजदूतले नेपाली श्रमिकका समस्या समाधानका लागि निरन्तर संवाद र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। नेपाल र इजरायलबीचको श्रम सहकार्य सुदृढ बनाउँदै श्रमिकको हकहित संरक्षणका लागि समन्वय बढाउने सहमति भयो।
