मधेशका किसानले यस वर्ष धान रोपाइँमा प्रतिघण्टा २ हजार ५ सय रुपैयाँ जोताइ खर्च तिर्न बाध्य भएका छन्, जुन गत वर्षभन्दा १ हजार रुपैयाँ बढी हो।
गत वर्ष १ हजार ५ सयदेखि १ हजार ७ सय रुपैयाँसम्म रहेको जोताइ शुल्क यस वर्ष २ हजार ५ सय रुपैयाँ पुगेको छ। एक साताअघि सरकारले डिजेलको मूल्य प्रतिलिटर ३० रुपैयाँ घटाए पनि ट्र्याक्टर जोताइ शुल्कमा कमी आएन।
धनुषाको विदेह नगरपालिका–४ का किसान विपिन बिहारी यादवले जोताइ खर्च अत्यधिक बढ्दा धान रोपाइँको समग्र लागत निकै बढेको बताए।
अधिकांश किसानले गोरु पाल्न छोडेपछि भिरालो जग्गाबाहेक सबै खेत ट्र्याक्टरबाटै जोत्नुपर्ने बाध्यता छ। जोताइ खर्चसँगै मल, कीटनाशक विषादी र अन्य कृषि सामग्रीको मूल्य पनि बढेको छ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२३ का विलास साहले खेतका आली–भित्तो खन्न, धानको बेर्ना उखेल्न र रोपाइँ गर्नसमेत कामदार पाउन मुस्किल भएको बताए। सबै ठाउँमा एकैसाथ रोपाइँ सुरु भएकाले मजदुर अभाव चर्किएको छ।
महोत्तरी गाउँपालिका, पर्साका किसान विवेकानन्द ठाकुरले गाउँका युवा पञ्जाब, दिल्ली, मुम्बई तथा वैदेशिक रोजगारीमा गएकाले जनशक्ति अभाव भएको औँल्याए।
सर्लाहीको सलेमपुरका किसान गगनदेव झाले मजदुर पाउनै कठिन भएको गुनासो गरे। पाए पनि ज्याला धेरै माग्ने र समयमा काम नगर्ने समस्या रहेको उनले बताए।
पूर्वकृषि प्रमुख ठाकुरनारायण ठाकुरले आधुनिक कृषि यन्त्र–उपकरण किसानको पहुँचमा नहुँदा मजदुरकै भर पर्नुपरेको बताए। इन्धन मूल्यवृद्धिका कारण धानसहित अन्य बालीको उत्पादन लागत बढेको उनको भनाइ छ।
कृषि उत्पादन लागत लगातार बढ्दै जाँदा र कामदार अभाव चर्किँदै जाँदा मधेशका किसान थप समस्यामा परेका छन्।
