देशभर मनसुनी वायुको प्रभावले आज भारी वर्षाको सम्भावना देखिएको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिमी भू-भाग नजिक औसत स्थानमा अवस्थित छ ।
मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आज बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका केही स्थानमा भारी वर्षा हुनेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा हावाहुरीको सम्भावना पनि छ ।
देशभर सामान्यतया बादल लाग्नेछ । पहाडी र हिमाली भू-भागका केही स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश र कोशी प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन, चट्याङ्गसहितको वर्षाको सम्भावना छ ।
राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ्गसहितको मध्यम वर्षा र हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना कायमै रहेको महाशाखाले जनाएको छ ।
