वैदेशिक रोजगार विभागले विभागीय स्वीकृति नलिई भारतका विमानस्थल प्रयोग गरी नेपाली श्रमिकलाई विदेश पठाउने १५९ वटा म्यानपावर कम्पनीमाथि कारबाही गरेको छ। वैदेशिक रोजगार ऐन, २०६४ को व्यवस्था उल्लंघन गरेको ठहर गर्दै ती कम्पनीलाई पहिलो पटक सचेत गराइएको छ।
विभागले २०८२ चैत १ गतेदेखि २०८३ जेठ मसान्तसम्म श्रम स्वीकृति लिएर विदेश गएका श्रमिकहरूको उडान विवरण संकलन गरी अनुगमन गरेको थियो। सो अवधिमा सञ्चालनमा रहेका एक हजार ११७ इजाजतप्राप्त म्यानपावर कम्पनीमध्ये ६७८ कम्पनीले मात्रै आवश्यक विवरण पेश गरेका थिए।
पेश गरिएका विवरणको अध्ययनका क्रममा १५९ कम्पनीले विभागको पूर्वअनुमति नलिई भारतस्थित विमानस्थल प्रयोग गरेर श्रमिक विदेश पठाएको पुष्टि भएको विभागले जनाएको छ।
त्यसैगरी, विभागले माग गरेको विवरण नै उपलब्ध नगराएका ४३९ वटा म्यानपावर कम्पनीलाई पनि वैदेशिक रोजगार ऐनको दफा ३७ उल्लंघन गरेको भन्दै पहिलो चरणमा सचेत गराइएको छ। ती कम्पनीलाई आवश्यक विवरण तत्काल बुझाउन पुनः निर्देशनसमेत दिइएको छ।
यसैबीच, कानुनी व्यवस्था तथा विभागीय निर्देशन पटक–पटक उल्लंघन गर्ने आठ वटा म्यानपावर कम्पनीलाई जनही ५० हजार रुपैयाँका दरले जरिबाना गरिएको विभागले जनाएको छ। तीमध्ये तीन कम्पनीले पुनः भारतको विमानस्थल प्रयोग गरेको तथा पाँच कम्पनीले मागिएको विवरण नबुझाएको कारण कारबाहीमा परेका हुन्।
विभागले वैदेशिक रोजगार व्यवसायीलाई कानुन तथा विभागीय निर्देशनको पूर्ण पालना गर्न आग्रह गर्दै भविष्यमा यस्ता गतिविधि दोहोरिए थप कडा कारबाही गरिने चेतावनी दिएको छ।
वैदेशिक रोजगार ऐनअनुसार विदेश जाने नेपाली श्रमिकलाई स्वदेशकै विमानस्थलबाट पठाउनुपर्ने व्यवस्था छ। विशेष परिस्थितिमा भारतलगायत विदेशी विमानस्थल प्रयोग गर्नुपर्ने भए विभागबाट पूर्वस्वीकृति लिन अनिवार्य रहेको कानुनी प्रावधान छ।
