गृहमन्त्री सुधन गुरुङसमक्ष आफ्ना समस्या राख्न सिंहदरबार पुगेकी निहारिका राजपुत र बिनु यादवलाई प्रहरीले प्रवेशमा रोक लगाएको छ। यसपछि उनीहरू बच्चासहित सिंहदरबारको मुख्य गेटमै धर्ना बसेका छन्। झमझम पानी परिरहेका बेला उनीहरू गेट अगाडि भुइँमै बसेर विरोध जनाएका हुन्।
प्रवेशमा रोक लगाएपछि बिनु यादव सडकमै सुतेर प्रदर्शनमा उत्रिएकी थिइन्। निहारिकाले आफ्नो पाँच वर्षीया छोरालाई काखमा च्यापेर वर्षाको बीचमा गेटबाहिर बसिन्।
विगतमा ‘कुमारी आमा’का रूपमा चर्चामा आएकी निहारिका र घरेलु हिंसापीडित यादव गृह मन्त्रालय जान पुगेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की एक सांसदमार्फत सिंहदरबार प्रवेशका लागि पास उपलब्ध गराइएको थियो। तर, प्रहरीले माथिको आदेश भन्दै प्रवेश गर्न नदिएको निहारिकाले आरोप लगाइन्।
आफूहरू पनि नागरिक भएकाले गुनासा सम्बन्धित निकायसमक्ष राख्न पाउनुपर्ने भन्दै उनीहरूले सरकारको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेका छन्। निहारिकाले प्रधानमन्त्री बालेन्द्र शाहलाई जनकपुर सभामा गरेको प्रतिबद्धता सम्झाउँदै सिंहदरबार सर्वसाधारणका लागि अझै टाढा रहेको बताइन्।
प्रहरीले दुवैलाई गेटबाट केही पर सारेर बस्न आग्रह गरे पनि पक्राउ भने गरेको छैन। उनीहरू न्याय माग्न खोज्दा गृहमन्त्री गुरुङले भेट्न नमानेको भन्दै विरोधमा उत्रिएका हुन्।
निहारिका १७ वर्षको उमेरमा आफूमाथि नशालु पदार्थ खुवाएर बलात्कार भएको र त्यसबाट छोरा जन्मिएपछि कुमारी आमाका रूपमा चर्चित भएकी थिइन्। उनको छोराको डिएनए आरोपित शिवराज श्रेष्ठसँग मिलेपछि अदालतको पहलमा उनीहरूले २०७९ माघमा जनकपुरमा विवाह गरेका थिए। जिल्ला अदालत धनुषाका न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा मिलापत्र भएको थियो।
