सप्तरीमा दुई दिनको अविरल वर्षाले कञ्चनरूपको पुल क्षतिग्रस्त बन्यो, राजविराजमा कोशी पम्प नहरको तटबन्ध भत्किँदा दुई बिघा धानबाली बालुवाले पुरियो।
कञ्चनरूप नगरपालिका ११ गिदहास्थित देवीखोला र बाभना खोलाको संगममा रहेको पुल वर्षापछि क्षतिग्रस्त बनेको स्थानीय बताउँछन्।
राजविराज नगरपालिका ११ झलहीमा कोशी पम्प नहरको तटबन्ध भत्किँदा रोपिएको धानबालीमा क्षति पुग्यो, बिघाँै खेतीयोग्य जमिन डुबानमा पर्यो। स्थानीयका अनुसार, उत्तरी भेगमा सिँचाइ पुर्याउन सञ्चालित पम्प नहरको तटबन्ध फुटेपछि ठूलो परिमाणमा बालुवा खेतमा पस्यो।
तटबन्ध भत्किएपछि पश्चिमतर्फको दुई बिघाभन्दा बढी रोपिएको धानबाली बालुवाले पुरियो, खाली खेतमा समेत बालुवा थुप्रियो। प्रभावित स्थानीयले तटबन्ध तत्काल मर्मत गरी पानीको बहाव नियन्त्रण गर्न र उत्तरी क्षेत्रको सिँचाइ सेवा पुनः सञ्चालन गर्न सम्बन्धित निकायसँग माग गरे।
हनुमाननगर कंकालिनी नगरपालिका ११ सखुवास्थित सामुदायिक भवन अगाडिको बाँधमा सोमबार बिहानदेखि कटान सुरु भयो। स्थानीयका अनुसार, इनरुवा र हनुमाननगर क्षेत्रबाट आएको पानीको चाप ह्युमपाइपले थेग्न नसक्दा बाँध कटान भयो।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले खाँडो, महुली, कोशी, त्रियुगालगायत नदीमा पानीको बहाव बढेको बताए। केही गाउँबस्तीमा पानी पसेको र प्रभावित क्षेत्रको निरन्तर अनुगमन भइरहेको उनले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी थापाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय तह, सुरक्षा निकाय र सम्बन्धित कार्यालयसँग समन्वय गरी उद्धार, राहत तथा सुरक्षित बसोबासका लागि तयारी गरिएको जानकारी दिए।
