नेपाल प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित ९ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार विभिन्न मिति र स्थानमा भएका कारबाहीमा उनीहरू पक्राउ परेका हुन्।
कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलाबाट नियन्त्रित लागुऔषध नाइट्राभेट-५ ट्याब्लेटसहित ३१ वर्षीय दीपक धामी पक्राउ परेका छन्। सोही नगरपालिका–१ बाट खैरो हेरोइनजस्तो देखिने पदार्थ एक ग्राम ११० मिलीग्रामसहित २९ वर्षीय रविन चौधरी र १९ वर्षीय आयुष चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रुपन्देहीको ओमसतिया गाउँपालिका–४ ठूलो बालापुरबाट एक ग्राम ९८० मिलीग्राम खैरो हेरोइनसहित भारत उत्तर प्रदेशका २६ वर्षीय रामवचन जैसवाल पक्राउ परेका छन्। धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ वीरेन्द्र बजारबाट करिब १४८ ग्राम गाँजासहित २४ वर्षीय मोहमद तमिम राइन पक्राउ परेका छन्।
दार्चुलाको महाकाली नगरपालिका–४ पुलघाटबाट छ ग्राम चरेससहित २३ वर्षीय सुरेशसिंह कुवँरलाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१ बागवानीबाट ५९० ट्याब्लेट नाइट्राजेपामसहित १६ वर्षीय किशोरसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट तीन ग्राम ११० मिलीग्राम ब्राउनसुगरसहित ४५ वर्षीय अवित राई पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका राईलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो।
यी सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
