ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने सरकारी निर्णयविरुद्ध मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतोको संयोजकत्वमा संघर्ष समिति गठन भएको छ। समितिले उक्त निर्णय तत्काल फिर्ता लिन सरकारलाई चेतावनी दिएको छ।
‘ढल्केवर ट्रमा सेन्टर संरक्षण संघर्ष समिति’ ले ट्रमा सेन्टर स्थानान्तरण गर्ने निर्णय जनभावनाविपरीत रहेको ठहर गरेको छ। समितिका संयोजक महतोले स्थानीयवासीको स्वास्थ्य सुरक्षासँग जोडिएको यो सेवा यथास्थानमै सञ्चालन गरिनुपर्ने अडान राखेका छन्।
‘जनभावनाको कदर गर्दै त्रुटिपूर्ण निर्णय नसच्याइए हामी कडा आन्दोलनमा उत्रन बाध्य हुनेछौँ,’ महतोले भने। समितिले माग सम्बोधन नभए सडक आन्दोलन, धर्ना र रिले अनशन जस्ता दबाबमूलक कार्यक्रम गर्ने चेतावनी दिएको छ।
