अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन्। चीनको ग्वाङझाउमा सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासेफिक सम्मेलनलाई भिडियो सन्देश पठाउँदै उनले यस्तो धारणा राखे।
सरकारले लगानीको वातावरण बनाउने, देशमै रोजगारी सिर्जना गर्ने र सूचना प्रविधि क्षेत्रमा प्रोत्साहन गर्ने नीति कार्यान्वयन गरिरहेको छ। मन्त्री वाग्लेले पर्यटन, सूचना प्रविधि, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषि र आयात प्रतिस्थापन हुने क्षेत्रमा लगानी गर्न आह्वान गरे।
मन्त्री वाग्लेले सरकार नतिजा देखिने गरी तीव्र गतिमा काम गरिरहेको बताए। बजेटमार्फत २७ नयाँ कानुनी ऐन ल्याएर लगानीमैत्री वातावरण बनाउन सरकार लागिपरेको छ। उनले सम्मानजनक रोजगारी सिर्जनामा सरकारले विशेष ध्यान दिएको उल्लेख गरे।
सरकारको आम्दानी बढाउन कर प्रणालीमा सुधार गरिएको छ। बजेटमार्फत आर्थिक नीतिमा सुधारको सुरुआत भएको उनको भनाइ छ। ‘पहिलो वर्ष सुधारको सुरुआत गर्यौँ, दोस्रो वर्ष अझै फराकिलो सुधारको काम अघि बढ्नेछ। तेस्रो र चौथो वर्ष सुधारको नतिजा देखिनेछ। चौथो र पाँचौँ वर्षमा यसको प्रतिफल जनताले पाउनेछन्,’ उनले भने।
लक्ष्य प्राप्तिका लागि आन्तरिक स्रोत महत्त्वपूर्ण छ। बाह्य लगानीको स्रोत अप्ठ्यारोमा रहेकाले प्रवासीको ज्ञान र पुँजी सरकारलाई चाहिएको छ। पार्टीको घोषणापत्रमा उल्लेखित प्रवासी पुँजी र लगानी परिचालनमा सरकारले विशेष पहल गरेको उनले बताए।
उनले निर्वाचनको घोषणापत्रमा ‘सफ्ट पावर’ उपयोगको कुरा स्मरण गराउँदै डायस्पोराको लगानी र ज्ञान नेपाल भित्र्याउने नीति लिएको बताए। धितोपत्र बाँडफाँट तथा निष्कासन नियमावली संशोधन गरी नेपाल सरकार र एनआरएन इन्भेस्टमेन्ट फण्डबाट जारी हुने सेयरको हिस्सा ८५ प्रतिशत पुर्याइएको जानकारी उनले दिए।
‘आउनुहोस्, ढुक्क भएर लगानी गर्नुहोस्। आफ्नो ज्ञान र सीपलाई यहाँ प्रयोग गर्नुहोस्,’ उनले आग्रह गरे। सरकार रुग्ण उद्योगलाई पनि ब्युँताउँदै छ। यसलाई सञ्चालन गर्न सीप र ज्ञान भएकालाई दिइनेछ, जसमा प्रवासीले सहभागिता जनाउन सक्नेछन्।
