सुनसरीको देवानगञ्जमा भएको साम्प्रदायिक झडप र सुरक्षा कारबाहीबारेको स्थलगत अध्ययन प्रतिवेदनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दुई सांसदबीच चर्को विवाद निम्त्याएको छ। सुनसरी क्षेत्र नम्बर २ का सांसद लालविक्रम थापा र क्षेत्र नम्बर ४ का सांसद दीपककुमार साह सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत एकअर्कालाई आरोप लगाइरहेका छन्।
सांसद साहको टोलीले तयार पारेको प्रतिवेदनले सांसद थापाको सामाजिक सञ्जालको भूमिकामाथि प्रश्न उठाउँदै अनुसन्धानको दायरामा ल्याउन सुझाव दिएपछि विवाद सतहमा आएको हो। प्रतिवेदन सार्वजनिक भएपछि थापाले फेसबुकमार्फत साह र उनको सचिवालयले सरकारी प्रतिवेदनको नाम दुरुपयोग गरी आफूलाई बदनाम गराउन खोजेको आरोप लगाए।
थापाले साहको प्रतिवेदनलाई झुटो, आधारहीन र योजनाबद्ध प्रचारको संज्ञा दिँदै आफू अपराधी नभएको दाबी गरे। ‘अपराधीलाई कानुनको कठघरामा उभ्याउने बहादुर छोरो हुँ,’ उनले लेखे।
साह र उनको सचिवालयले चार पाना लेखेर भ्रमपूर्ण प्रचार गराउनु निन्दनीय भएको थापाको भनाइ छ। गृह मन्त्रालयको आधिकारिक छानबिन समिति प्रतिवेदन सार्वजनिक नहुँदै अर्को सांसदले आफूखुसी प्रतिवेदन बाँड्नु षड्यन्त्र भएको उनले बताए। हिंसा भड्काएको प्रमाणित गर्न चुनौती दिँदै थापाले कानुनी उपचार खोज्ने चेतावनी दिए।
थापाको आरोपपछि सांसद साहले आफ्नो प्रतिवेदन कसैलाई दोषी करार गर्न नभई भविष्यमा यस्ता घटना नदोहोरिउन् भन्ने उद्देश्यले तयार पारिएको प्रारम्भिक दस्ताबेज भएको जिकिर गरे। थापाले पूरै नपढी र भाव नबुझी प्रतिक्रिया दिएको हुन सक्ने साहले बताए।
‘बुँदा नम्बर १३ मा स्थानीयको भनाइ र सामाजिक सञ्जालको प्रभावबारे समग्रमा लेखिएको हो,’ साहले स्पष्ट पारे, ‘यो कसैमाथि आरोप होइन।’ नेताको काम प्रश्न उठाउने र अनुसन्धानका लागि सरकारलाई आग्रह गर्ने मात्र भएको बताउँदै उनले प्रतिवेदन ग्रहण गर्ने अधिकार सरकारको हातमा रहेको उल्लेख गरे।
साहका अनुसार सुनसरीमा एक समुदाय अझै त्रसित छ। प्रहरीकै सामुन्ने पसल जलाइँदा समेत जाहेरी दिने आँट गर्न नसकेको यथार्थ उनले सुनाए। भोटको राजनीतिका लागि नेताहरूले समाजलाई धरापमा पार्न खोजेको जनगुनासो आएकाले सत्य खोज्ने प्रयास मात्र गरेको उनको प्रस्टीकरण छ।
देवानगञ्ज घटनालगत्तै घटनास्थल र अस्पताल पुगेका सांसद थापाले सुरक्षा प्रशासन र स्थानीय नेतृत्वमाथि आक्रोश पोखेका थिए। अस्पतालमा घाइतेलाई भेट्ने क्रममा प्रमुख जिल्ला अधिकारीले घटनाबारे अनभिज्ञता प्रकट गरेको भन्दै उनले असन्तुष्टि जनाए। ‘मैले सिडिओलाई सोध्दा थाहा छैन भने,’ थापाले भने, ‘यत्रो दमन हुँदा प्रशासन प्रमुखलाई थाहा नहुनु झुटो कुरा हो।’
त्यस समयमा उनले सुरक्षाकर्मीको कार्यशैलीमाथि पनि गम्भीर आशङ्का व्यक्त गरेका थिए। ‘कतै गोली लागेर मान्छेहरू खाल्डोतिर हालिएको त छैन ?’ उनले प्रश्न गरे। सुरक्षाकर्मीलाई अनुसन्धान गर्न चेतावनी दिँदै उनले भने, ‘कुनाकाप्चामा बच्चाहरू छटपटाएर मरेका पो छन्, सर्च अपरेसन जारी राख।’ तत्कालीन गृहमन्त्रीसँग कुरा गरेर घाइतेको उपचारका लागि हेलिकप्टर मगाउन पहल गरेको बताएका थापाले नयाँ सरकारका पालामा युवामाथि बर्बर दमन भएको भन्दै दुःख व्यक्त गरेका थिए।
