त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक बंगलादेशी नागरिक करिब १५० ग्राम सुनजस्तो देखिने धातुसहित पक्राउ परेका छन्। दुबईबाट फ्लाई दुबईको उडानमार्फत गत साउन ३१ गते काठमाडौं आएका ती व्यक्तिलाई प्रहरीले शंकाका आधारमा नियन्त्रणमा लिएको थियो।
प्रारम्भिक सोधपुछका क्रममा ती व्यक्तिले सुन लुकाएर ल्याएको स्वीकार गरेपछि काठमाडौं मेडिकल कलेज, सिनामंगलमा एक्स-रे परीक्षण गरिएको थियो। परीक्षणमा पेटभित्र शंकास्पद धातु देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो।
पाँच दिन अस्पतालमा बिताएका ती नागरिकले शुक्रबार शौच गर्दा पेटबाट पहेँलो रङका क्याप्सुल आकारका दुईवटा वस्तु फेला परेको प्रहरीले जनाएको छ। यी वस्तुहरूको तौल करिब १५० ग्राम रहेको छ।
विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार बरामद भएको धातु सुन हो वा होइन भन्नेबारे थप परीक्षणपछि मात्रै यकिन हुनेछ। हाल ती बंगलादेशी नागरिकलाई आवश्यक अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ।
