त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पेटभित्र लुकाएर ल्याइएको करिब १५० ग्राम सुनसहित एक बंगलादेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोहम्मद रसेल हवल्दार छन्। फ्लाई दुबईको एफजेड ११३३ उडानमार्फत ३१ साउनमा काठमाडौं आएका हवल्दारलाई प्रहरीले शंका लागेर नियन्त्रणमा लिएको थियो।
प्रारम्भिक सोधपुछमा हवल्दारले पेटभित्र सुन लुकाएर ल्याएको स्वीकार गरे। सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा जाँच गराउँदा सुन पुष्टि भयो। अस्पतालमा भर्ना गरी पाँच दिनको अवधिमा शौच गर्न लगाएर सुन निकालिएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयका एसपी राजकुमार सिलवालले Nmkhabarलाई पुष्टि गरे।
उनलाई क्याप्सुल आकारका दुई थान सुनका डल्लासहित थप कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ।
